ठाकुर-महतोलाई अर्को धक्का, जनकपुरका मेयर साह र पूर्वमन्त्री मण्डल उपेन्द्र क्याम्पमा !

जनकपुरधाम । जसपाको आधिकारिताकता उपेन्द्र यादवले पाएपछि महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका नेताहरू एकपछि अर्को गर्दै उनीहरूको साथ छाड्न थालेका छन् । ठाकुर-महतो समूहका केन्द्रीय तथा प्रभावशाली नेताहरूले साथ छाड्न थालेपछि उनीहरूलाई प्रदेश २ मा उनीहरुलाई झट्का लाग्न थालेको हो ।

मंगलबारमात्रै ठाकुर समूहबाट निर्वाचित प्रदेश सांसद एवं प्रदेश २ का पूर्व राज्यमन्त्री सुरेश मण्डल र राजेन्द्र समूहबाट जनकपुरधाम उपमहानरपालिकाको मेयरमा निर्वाचित लालकिशोर साहले ठाकुर-महतोको साथ छाड्दै उपेन्द्र यादव नेतृत्वको जसपाको बैठकमा सहभागी भएका छन् ।

संघीय राजधानी काठमाडौँको कालिकास्थानमा मंगलबारदेखि जारी जसपाको दुई दिने केन्द्रीय समितिको बैठकमा ठाकुर निकट सांसद मण्डल र महतो निकटका मेयर साह सहभागी भएका हुन् ।

यसअघि उद्योग राज्य मन्त्री रहेका मण्डललाई ठाकुर पक्षको नेता भन्दै जेठ २३ मा प्रदेश २ का मुख्यमन्त्री मण्डलले बर्खास्त गरेका थिए ।

मण्डल ठाकुर समूहका नेता भए पनि पछिल्लो समय राजकिशोर यादवसँग नजिकिएका छन् । पार्टीको आधिकारिताकतासम्बन्धी विवादमा राजकिशोरले उपेन्द्र यादवको साथ दिएका थिए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजेन्द्र महतो निकट थिए । साह तत्कालीन राजपाबाट मेयरमा निर्वाचित भएका हुन् । महतोलाई निर्वाचन जिताउन पनि साहको ठूलो हात रहेको पूर्वराजपा वृत्तमा चर्चा चल्ने गरेको छ ।

केही दिनअघि ठाकुर-महतो पक्षले विभिन्न जिल्लामा गरेको कार्यक्रममा पनि साहको सहभागी देखिएका थिएनन् । सोही बेला उनले कित्ता परिवर्तन गरेको अड्कल काटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *