बाढीले घर गुमाएका मनाङका पीडितलाई २ लाख दिइने

पोखरा । गण्डकी सरकारले बाढी पहिरोका कारण घर पूर्ण रुपमा क्षति भएका मनाङका पीडितलाई प्रतिपरिवार २ लाखका दरले राहत दिने घोषणा गरेको छ । सोमबार बाढी प्रभावित क्षेत्र मनाङको अवलोकन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सबै पीडित परिवारलाई २ लाखका दरले रकम उपलब्ध गराउने आश्वासन दिएका हुन् । अर्थमन्त्री रामजी बरालसमेत निरीक्षणमा सहभागी थिए ।

बर्खाको सुरुमै मर्स्याङ्दीमा आएको बाढीले मनाङ क्षतविक्षत छ । मनाङमा यो बर्खामा ८५ घर पूर्ण क्षति भएको विवरण संकलन भएको छ ।

नासों गाउँपालिका- १ मा ७० घरमा क्षति पुगेको छ । धारापानीमा पनि १२ घरमा क्षति पुगेको पालिका अध्यक्ष चन्द्र घलेले बताए । अधिकांश क्षती ताल गाउँमा भएको छ ।

बेशिसहर चामे सडक खुलाउन संघ सरकारले काम थालिसकेको र तालसम्म गाडी चल्न थालिसकेको घलेले बताए । त्योभन्दा माथि पनि अहिले धमाधम काम भइरहेको छ । मुख्यमन्त्री पोखरेलले बाढी र पहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा प्राथमिकता तोकेर संघ सरकारसँग समन्वय गर्दै काम गर्ने प्रतिबद्धता जनाए । संघ सरकारले मनाङलाई विपद संकटग्रस्त घोषणा गरेको छ ।

मनाङ सदरमुकाम चामेमा बाढीकै कारण बिजुली बत्ती नबलेपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरूमा सोलार जडान गरिसकेको छ । अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले बाढी र पहिरो प्रभावितहरूको पहिचान गरी तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताए ।

वडा नम्बर १ को अधिकांश बस्ती बगरको रुपमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितहरूलाई खान बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने उनको भनाइ छ । असार १ गते परेको अविरल वर्षादीले मर्स्याङ्दी नदी र दुधखोलामा आएको बाढीका कारण अधिकांश किनारका गाउँहरूमा क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *