टिम बनाउँदै कुलमान, जिम्मेवारीमा फर्किए अधिकारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रवल अधिकारी प्राधिकरणको पदीय जिम्मेवारीमा मंगलबार (१ भदौ)देखि फर्किएका छन् ।

प्राधिकरणको व्यापार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीमा रहेका अधिकारीलाई सेवा प्रवेशका बेला प्राधिकरणमा पेश गरेको कागजातमा जन्म मिति फरक परेको भन्दै यसअघिकाे सञ्चालक समितिले सेवाबाट  अलग्याउन खोजेको थियो । तर, कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङ नियुक्तिपछि बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सेवा प्रवेशको एउटा कागजातमा मानवीय त्रुटिवश भएको गल्तीलाई अवधि नै नपुगी अवकाश दिएर अन्याय गर्नु नहुने भन्दै अधिकारीलाई पुनः बाहाल गरेको हो ।

‘मैले सेवा प्रवेश गर्दा जन्ममिति २०२२ लेख्नु पर्नेमा एक ठाउँमा २०२० भएको रहेछ,’ मकालु खबरसँग अधिकारीले भने, ‘यो पनि कसरी भयो मैले थाहा पाइन । बाँकी सबै कागजातमा २०२२ नै थियो । तर, त्यही कुरालाई आधार बनाएर मलाई सेवाबाट निकाल्न खोजियो ।’

उनले जन्म मितिमा विवाद गर्नुपर्ने कुनै कारण नै नभएको बताए ।

उनले भने– ‘जन्ममितिमा विवाद गर्नै पर्ने थिएन । मैले जन्ममिति २०२२ नै भएको नागरिकता, शैक्षिक प्रमाणपत्र सबै पेश गरेको थिएँ । तर पनि सेवाबाट निकाल्न खोजिएपछि अदालत गएर न्याय माग्नु र विवाद गरेर जागिरमा बसिरहनु भन्दा मैले २६ साउनदेखि लागु हुने गरी १२ साउनमा राजीनामा दिएको थिएँ । तर, सञ्चालक समितिले मेरो राजीनामा अस्वीकृत भएको पत्र ३२ साउन (सोमबार) मलाई दियो । १ भदौ प्राधिकरणको वार्षिक उत्सवका दिन म पुनः कार्यालयमा हाजिर भएको छु ।’

प्राधिकरण भित्र मौलाएको राजनीतिक लगायत कारणले आफूलाई त्यसरी पदबाट निकाल्न खोजिएको समेत उनले बताए । कुलमान घिसिङको पहिलो कार्यकालमा उपकार्यकारी निर्देशक अधिकारीको भूमिका प्रभावकारी मानिएको थियो ।

बन्दै छ कुलमान टिम

प्राधिकरणमा कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि उनले आफूलाई सहयोगी हुने टिम निर्माण गर्न थालेका छन् । पहिलो कार्यकालमा आफूलाई साथ दिएका उपकार्यकारी निर्देशकहरुलाई उनले पुनः पहिलेकै जिम्मेवारी दिएका छन् ।

उनले ४ जना उपकाकार्यकारी निर्देशकको सरुवा तथा जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, आयोजना व्यवस्थापन निर्देशनालय (पिएमडी) का रामजी भण्डारी, इन्जिनियरिङ सेवा निर्देशनालयका मनोज सिलवाल र उत्पादन निर्देशनालयका प्रमुख मदन तिम्सिनाको जिम्मेवारी हेरफेर गरेका छन् ।

न्यौपानेलाई उत्पादन निर्देशनालयको प्रमुखमा, भण्डारीलाई इन्जिनियरिङ सेवा निर्देशनालयमा र सिलवाललाई वितरण तथा ग्राहक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।

यसअघि हितेन्द्रदेव शाक्यको पालामा प्राधिकरणको प्रवक्तासमेतको जिम्मेवारी पाएका मदन तिमल्सिनालाई सहायक कम्पनी अनुगमन निर्देशनालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *