७० प्रतिशतले घट्यो विद्युत् प्राधिकरणको नाफा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको खुद मुनाफामा गत वर्ष ६९.९४ प्रतिशतले कमी आएको छ । प्राधिकरणले ३६ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा कर भुक्तानीपछिको खुद मुनाफा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । जबकी, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्तो मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ थियो ।

प्राधिकरणले गत वर्ष ७१ अर्ब २८ करोड रुपैयाँ बिजुली बिक्रीबाट कमाएको थियो । यसभन्दा अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी ७६ अर्ब ३१ करोड रुपैयाँ थियो । यस्तो आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५९ प्रतिशतले कम हो ।

सञ्चालन खर्चमा वृद्धि, भारतबाट आयात हुने विद्युत् परिमाणमा वृद्धि, कोभिड–१९ प्रभावित विभिन्न वर्ग तथा क्षेत्रलाई दिएको छुट तथा सहुलियतका कारण प्राधिकरणको खुद नाफा घटेको बताएको छ ।

प्रतिवेदन अनुसार प्राधिकरणको सञ्चालन खर्चमा गत वर्ष १०.९६ प्रतिशतले बढेको छ । आ.व. २०७६/७७ मा सञ्चालन खर्च ६१ अर्ब ८७ करोड रहेकोमा गत वर्ष ६८ अर्ब ४५ करोड रुपैयाँ थियो ।

कूल आम्दानीको ५८.८३ प्रतिशत रकम विद्युत् खरिदमा खर्च भएको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष विद्युत् खरिदमा १०.०५ प्रतिशतले खर्च बढ्न जनाएको छ ।

आर्थिक वर्ष २०७७र७८ मा प्राधिकरणले ४१ अर्ब ४६ करोड रुपैयाँको विद्युत् खरिद गरेको थियो । यो अघिल्लो वर्षभन्दा १८.०५ प्रतिशत बढी भएको जनाएको छ ।

सम्पूर्ण शिर्षकमा भएको आम्दानी गरी प्राधिकरणको कुल आम्दानी गत आर्थिक वर्षमा ८० अर्ब ३५ करोड रुपैयाँ थियो । त्यस्तै गत वर्ष कुल सञ्चालन खर्च ६८ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । कुल आम्दानीबाट कुल सञ्चालन खर्च घटाउँदा मुनाफा ११ अर्ब ७१ करोड रुपैयाँ देखिएको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो सञ्चालन मुनाफा मात्रै २३ अर्ब ७४ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा ५०.६७ प्रतिशत कम हो ।

गत वर्ष प्राधिकरणले भारतबाट २ अर्ब ८२ करोड युनिट बिजुली आयात गरेको थियो । यो परिमाण अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.४५ प्रतिशतले बढी हो ।

गत वर्ष खोला तथा नदीमा पानीको बहाबमा अत्यधिक कमी आउँदा पनि विद्युत् उत्पादन घटेकोले आयात बढेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले गत वर्ष निजी क्षेत्रबाट ३ अर्ब २४ करोड युनिट बिजुली खरिद गरेको थियो ।

त्यस्तै, गत वर्ष निजी क्षेत्रका १०० मेगावाट विद्युत् थपिँदा उनीहरुबाट किन्नु पर्ने विद्युत्को मूल्य बढी परेकोकोले पनि प्राधिकरणको खुद नाफामा कमी आएको जनाएको छ ।

त्यस्तै विद्युत् चुहावट समेत झण्डै २ प्रतिशतले बढ्दा नाफामा कमी आएको हो । गत वर्ष १.९१ प्रतिशत बिन्दुले विद्युत् चुहावट बढेको छ । १ प्रतिशत विद्युत् चुहावट हुँदा प्राधिकरणलाई ८० देखि ८५ करोड रुपैयाँ घाटा हुने भएकोले चुहावटले पनि खुद मुनाफा घटाएको देखिएको छ ।

त्यस्तै प्रतिवेदन अनुसार प्राधिकरणको कुल ग्राहक संख्या ५० लाख ८० हजार पुगेको छ । हाल देशका ९० प्रतिशत घरमा प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पुगेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *