गण्डकी सरकारको नेतृत्व आलोपालो‚ माओवादीबीचमै दुईथरि कुरा

पोखरा । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमतिसहित गठबन्धन सरकार बनेपछि गण्डकीमा पनि त्यसको बाछिटा पसेको छ ।

माओवादीले लुम्बिनीमा जस्तै गण्डकीमा पनि आधा समयपछि आफूले नेतृत्व गर्न पाउनुपर्ने आवाज उठाएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकमा गण्डकीको तर्फबाट अध्यक्ष हितराज पाण्डेले लिखित प्रस्ताव राखेको समाचार सार्वजनिक भएपछि माओवादीभित्रै नेतृत्व लिने वा नलिने भन्नेमा दुईथरि कुरा सतहमा आएका छन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले अध्यक्ष पाण्डेले प्रदेशका सबै केन्द्रीय सदस्यको तर्फबाट प्रस्ताव राखेको दावी गरेका छन् । तर अर्का केन्द्रीय सदस्य राजकाजी गुरुङ करणले यो विषय प्रवेश नभएको भन्दै खण्डन गरेका छन् । उनले फेसबुकमार्फत् स्टाटस लेख्दै समाचारमा आएका कुराहरु झुट भएको दाबी गरे । ‘कमरेड हितराज पाण्डेले गण्डकी प्रदेश सरकार संचालनमा आलोपालो विधि अपनाउने भनेको भनेर कतिपय व्यक्ति र समचारमा आएको कुरा झुट हुन्,’ उनले भनेका छन्, ‘हामी जुन उद्देश्यले गठबन्धन बनायौँ त्यसमा पुरै इमान्दारिताका साथ लाग्नेछौँ ।’

No description available.

गुरुङले लुम्बिनी र गण्डकीको फरक परिस्थिति भएकाले आलोपालोको कुरा नगर्न आग्रह गरे । ‘दुई वर्ष पनि बाँकी नहुँदा आधा आधा गर्नु गलत हो । केन्द्रमा जुन स्पिरिटमा गएको छ, सोहीअनुसार जानुपर्छ । लुम्बिनीमा के भयो मलाई थाहा छैन,’ उनले मकालुखबरसँग भने, ‘गण्डकीमा त्यो छलफल यसअघि भएको छैन । लुम्बिनीलाई लिएर फरक धारणा बनाउनु हुँदैन । भोलि पार्टीले नै निर्णय गर्‍यो भने मेरो समर्थन हुन्छ । तर अहिले हाम्रो सल्लाह भएको छैन ।’

तर संसदीय दलका नेता चुमानले भने छलफल भएको दाबी नै गरेका छन् । ‘कि लुम्बिनीमा पूरै समय माओवादीले नेतृत्व गर्छ । नत्र गण्डकीमा आधा समयपछि माओवादीको नेतृत्व हुनुपर्छ,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘सबैको तर्फबाट उहाँले प्रस्ताव गर्नुभएको हो । हलमा यसबारे राम्रै छलफल भयो ।’ उनका अनुसार गठबन्धनमा यसले कुनै असर भने गर्दैन । ‘स्वयंसिद्ध तथ्य हो यो । गण्डकीमा भन्दा पहिले लुम्बिनीमा उठ्यो । त्यो नियम यता पनि लागू हुन्छ,’ उनले थपे, ‘यो स्वतः उठ्ने कुरा हो । व्यवस्थापन नेताहरूले मिलाउनुहुन्छ ।’ उनका अनुसार लिखित रुपमा नै गण्डकीले आलोपालो मागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *