‘गरिखाने अभियान’ : कांग्रेसको रोजगार प्रवर्द्धन सुरू

काठमाडौँ । नेपाली कांग्रेसको लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले ‘गरिखाने अभियान’ सुरु गरेको छ । समितिले युवालाई उद्यमशील बनाउन फ्ल्यागसीप कार्यक्रमका रूपमा ‘गरिखाने अभियान’ अघि बढाएको जनाएको छ । गरिखाने अभियानमार्फत् राजनीतिक परिचालन कार्यक्रम, उद्यमशीलता विकाससम्बन्धी विभिन्न अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको समितिले जनाएको छ ।

उक्त अभियान सञ्चालन गर्न पार्टीका जिल्ला सभापतिहरूसँग अन्तरक्रियासमेत समितिले सम्पन्न गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई ‘गरिखाने अभियान’ का तर्फबाट स्वागत गर्दै लगानी पूर्वाधार र रोजगार समितिका सभापति बिनोद चौधरीले युवालाई उद्यमशील बनाएमात्र राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए ।

‘प्रजातन्त्र स्थापनासँगै २०४८ को आम निर्वाचनबाट बनेको नेपाली कांग्रेसको सरकारले अङ्गीकार गरेको आर्थिक उदारीकरणको जगमा मुलुकको अर्थतन्त्र टिकेको छ,’ उनले भने, ‘राजनीतिक अधिकार प्राप्तिको आन्दोलनका उद्देश्य समृद्ध मुलुक निर्माण गर्ने नै हो । हामीले जनतालाई आर्थिक रूपमा सम्पन्न गराउन, उनीहरूको जनजीविकाको आधार सिर्जना गर्ने जस्ता रचनात्मक अभियानमा राजनीतिक परिचालन केन्द्रित गर्नुपर्छ ।’

चौधरीले हरेक वर्ष ४ लाखभन्दा बढी युवा श्रम बजारमा आउने भए पनि देशभित्र मुस्किलले ५० हजार वार्षिक रोजगारी पनि सिर्जना हुन नसकेको दयनीय अवस्था रहेको बताए । नवीन सोच भएका युवालाई उद्यमशील बनाउन मुलुकभित्र उद्यमशीलता विकासका अवरोध हटाउँदै नयाँ माहोल सिर्जना गर्न गरिखाने अभियान सञ्चालन गरेको उल्लेख गरे ।

कार्यक्रममा समितिका सहसंयोजक दीपक खड्काले राजनीतिक परिवर्तनमा सधैँ अगुवा र नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले नै आर्थिक विकासको नेतृत्व लिनसक्ने बताए । समितिकै सहसंयोजक एवं बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले आफू समाजको सेवाका लागि राजनीतिमा आएको र जीवन निर्वाहका लागि व्यवसाय गरेको बताए ।

नेपाली कांग्रेस रौतहट जिल्ला सभापति कृष्ण यादवले आफूले राजनीतिसँग जीवन निर्वाहका लागि व्यवसाय शुरु गर्दा पार्टीभित्रैबाट ‘व्यवसायमा लागेको व्यक्तिले के राजनीति गर्छ र !’ भनेर निरुत्साहित गर्ने काम भएको स्मरण गर्दै अहिले हरेक राजनीतिक दलमा यो विचार क्रमशः परिवर्तन हुँदै गएको बताए ।

‘पूर्णकालीन राजनीतिमा लाग्नेले जीवन निर्वाहका लागि पेशा-व्यवसाय नै गर्न हुँदैन भन्ने मान्यतालाई परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘राजनीति पेशा हुन सक्दैन, यो सेवा हो । राजनीति गर्नेले आयआर्जनका लागि सँगसँगै आफ्नो पेशा र व्यवसाय पनि गर्नुपर्छ । यसले राजनीतिलाई अझै सङ्लो बनाउँछ ।’

राज्यको नीति नियमभित्र रहेर व्यवसाय गर्ने व्यक्तिलाई समाजिक प्रतिष्ठाको सट्टा दलाली चरित्र उनीहरूको मानमर्दन गर्ने, निरुत्साहित गर्नेमा क्रियाशील रहेकोमा क्रमशः समाजमा यसबारे जागरण ल्याउनुपर्ने र ‘गरिखाने अभियान’मार्फत अघि सारिएको उद्यमशीलता विकासका लागि राजनीतिक परिचालनको अभियानलाई अघि बढाउनुपर्ने पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य जीपछिरिङ लामाले बताए ।

‘चार दिन रोटी, तीन दिन पार्टी’ अभियान
नेपाली कांग्रेसले आफ्ना कार्यकर्तालाई राजनीतिमा प्रवेश गरेको वहानामा आफ्नो जीवन निर्वाहको पाटोलाई नभुल्न जागरण गर्ने गरी सातामा ‘चार दिन रोटी, तीन दिन पार्टी’को अभियान अघि बढाउने जनाएको छ ।

कम्युनिस्ट पार्टीले सरकारमा छँदा कार्यकर्ता पाल्न राज्यकोषबाट तलब भत्ता दिने चर्चा बाहिर आएको भन्दै कांग्रेसले मुलुकप्रति त्यस्तो घातक कार्य गर्न नहुने‚ बरु कार्यकर्तालाई स्वरोजगार र उद्यमशील बन्न सघाएर मुलुकमा उत्पादन, रोजगारी र समग्र आर्थिक-सामाजिक विकासमा टेवा पुर्‍याउने गरी अभियान अघि बढाएको बताएको छ ।

कैलाली कांग्रेसका सभापति नरनारायण शाहले व्यवसाय गर्ने व्यक्तिलाई राजनीतिमा पछि पुर्‍याउन तिकडम गर्ने, मानमर्दन गर्ने, दुःख दिने काम हुँदै आएको बताए । यस्तो अवस्थामा राजनीति गर्नेले त्यसलाई नै पेशा बनाउँदा दोहन, भ्रष्टाचारका समस्या आएको र कतिपय पूर्णकालीन राजनीति गर्नेले पुर्ख्यौली सम्पत्तिसमेत सकेर रित्तो अवस्थामा पुगेको भन्दै व्यवसाय गर्नुलाई समस्या नमानी इज्जतका रूपमा लिनुपर्ने बताए ।

‘हामी तीन पुस्तादेखि जिल्ला सभापति छौँ । हजुरबुबाको पालामा डेढ सय विगाह जति जमिन थियो । राजनीति गर्ने क्रममा उनले र पछि बुबाको पालामा जमिन बेच्यौं,’ उनले भने, ‘अहिले म कैलाली सभापति छु । मैले यसरी हुँदैन भनेर व्यवसाय पनि गर्छु । मार्ट सञ्चालन गरेको छु, रेस्टुरेन्ट चलाउँछु ।

जीवन धान्न आयआर्जनका क्रियाकलापमा लाग्नैपर्छ । कार्यकर्तालाई यसमा प्रोत्साहित गर्नुपर्छ ।’ उनले पार्टी सञ्चालनका लागि पनि कैलाली कांग्रेसले कसैसँग चन्दा नलिएको र पार्टी कार्यालयको सटरबाट आउने भाडालगायतबाट पार्टी सञ्चालन भइरहेको बताए ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले उद्यमशीलता विकासका लागि गरिखाने अभियानलाई आफ्नो जिल्लामा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय सम्भाव्यताका आधारमा सम्भाव्य परियोजना विकास गरी उद्यमशील बन्न युवाहरूलाई प्रोत्साहित गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

उद्यमशीलता विकासका लागि सीप, पुँजी, प्रविधि, बजारलगायत सबै पाटोमा स्थानीय सरकार, उद्योग वाणिज्य संघ, दातृ निकाय तथा अन्य सरोकारवालासँग मिलेर काम अघि बढाउन उनीहरूले तत्परता देखाएका छन् । कार्यक्रममा २३ भन्दा धेरै जिल्लाका सभापतिहरू उपस्थित थिए । चाँडै यस अभियानलाई ७७ जिल्लामै विस्तार गर्नुपर्नेमा नेताहरूको जोड छ । अहिले गरिखाने अभियानअन्तर्गत पर्सा, मकवानपुर, झापा, धनकुटा, काभ्रे, काठमाडौँ, कास्की, नवलपुर, रुपन्देहीलगायत जिल्लामा अभियान पुगिसकेको छ ।

कसरी चल्छ गरिखाने अभियान ?
समितिका अनुसार गरिखाने अभियान राजनीतिक परिचालनमार्फत् उद्यमशीलता विकासका लागि जागरण गर्ने अभियान हो । त्यस अभियानमा जोडिएर उद्यमशील बन्न चाहनेलाई परियोजनासम्बन्धी सोच/सम्भाव्यता, सीप, पुँजी तथा प्रविधि, बजार पहुँच विस्तार तथा भइरहेका उद्यमलाई स्केल–अप (स्तरोन्नति)का लागि व्यवसायिक रूपमा उद्यमशीलता विकासमा काम गरिरहेका संस्थासँग सम्पर्क स्थापित गराई उक्त उद्यमशील सोचलाई व्यवहारमा रूपान्तरण गराउने काम हुँदै आएको छ ।

जिल्ला सभापतिसँगको अन्तरक्रिया कार्यक्रममा धनुषाका जिल्ला सभापति दिनेश यादवले ‘स-सानो व्यावसायिक कर्जाका लागि पनि बैंकले धितो माग्ने व्यवस्था नै उद्यमशीलता विकासको मुख्य अवरोध भएको’ बताए । व्यवसायिक कौशल भएका, नवीनतम र सम्भाव्य परियोजनाका सोच भएकालाई स-सानो व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा कर्जा दिने व्यवस्था हुनुपर्ने उनको भनाइ थियो ।

अन्तरक्रियाका क्रममा चालु आर्थिक वर्षको मौद्रिक नीतिले २५ लाख रुपैयाँसम्मको स्वरोजगार कर्जालाई धितो नचाहिने व्यवस्था गरेकाले यो व्यवस्था उद्यमशीलता विकासका लागि सहयोगी हुने अपेक्षा गर्दै समितिका संयोजक विनोद चौधरीले लघु-घरेलु तथा सना उद्यमको विकासले समावेशी र स्थायित्वसहितको आर्थिक विकासको जग निर्माण गर्ने हुँदा उद्यमशीलता विकासलाई महत्वका साथ अघि बढाउने सभापतिहरूको प्रतिवद्धताप्रति खुसी व्यक्त गरे ।

कार्यक्रममा ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्यले विश्वभर सफल उद्यमीको पहिचान बनाएका विनोद चौधरीले आफ्नो सीप र कौशलमार्फत् गरिखाने अभियानलाई राष्ट्रव्यापी बनाउने अभियान थालनी गरेकोमा त्यसलाई सघाउन आग्रह गरे ।

त्यस्तै, नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकले लगानी, पूर्वाधार र रोजगार समितिले मुलुकको दीर्घकालीन हितलाई लक्षित गर्दै काम गरिरहेकाले यसलाई पार्टीले १४औँ महाधिवेशनपछि पनि आवश्यक सहयोग र निरन्तरता दिएर अघि बढाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा सबै जिल्ला सभापतिले यस अभियान सफल बनाउन पार्टीपङ्क्ति सिङ्गो रूपमा परिचालित हुनुपर्ने भन्दै यस अभियानलाई शुभकामना व्यक्त गरे । उनीहरुले आ–आफ्नो जिल्लामा अभियान सञ्चालन गर्ने तत्परता देखाएका छन् । कार्यक्रममा उपस्थित सम्पूर्णले हालै नेपाल सरकारको स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका समितिका सहसंयोजक उमेश श्रेष्ठलाई बधाई तथा शुभकामना दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *