प्रदेश सरकारले दिएन, युवाहरूले दिए साइकल

जनकपुरधाम । प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत आइतबार जनकपुरको जानकी माविमा ३२ छात्रालाई साइकल वितरण गरियो । तर‚ त्यही कार्यक्रममा उपस्थित एकजना अति विपन्न मुस्लिम छात्रा लाडली खातुलाई भारतीय भन्दै प्रदेश सरकारले साइकल नदिएपछि उनले आँसु थाम्न सकिनन् । खातुनको त्यो आँसुसहितको भिडिओ सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भयो ।

जनकपुर-८ निवासी खातुन‚ सोही विद्यालयमा ९ कक्षामा अध्ययनरत छिन् । लाडलीकै अन्य साथीहरूलाई साइकल दिए पनि लाडलीले जन्मदर्ता प्रमाणपत्र पेश गर्न नसक्दा प्रदेश- २ सरकारले उनलाई साइकल दिएन । साइकल नदिँदा उनको मन खिन्न भयो ।

विद्यालयमा कहिलेकाहिँ मात्रै आउने र निजी विद्यालयमा अध्ययन गरेपनि तथ्याङ्ककै लागि विद्यालयमा नाम लेखाएका साथीहरूले प्रदेश सरकारको अनुदानबाट साइकल पाइरहँदा नियमित विद्यालय आउने लाडलीले मन थाम्न सकिनन् । उनले गहभरि आँसु झार्दै भक्कानिएर रुँदै आफूलाई समेत साइकल दिन आग्रह गरिन्, तर विद्यालय तथा साइकल वितरण गर्न आएका प्रदेश सांसद परमेश्वर साहको मन भने पग्लिएन, न त अन्य अतिथिकै ।

No description available.

उनलाई प्रदेश सरकारले साइकल उपलब्ध नगराएको भिडिओ भाइरल भएपछि जिल्ला युवा सञ्जाल धनुषाको पहलमा उनलाई सोमबार साइकल उपलब्ध गराइएको हो । खातुनले साइकल पाएपछि खुसी व्यक्त गरेकी छन् ।

सोमबार लाडलीको घरमै पुगेर जिल्ला युवा सञ्जाल धनुषाका महासचिव कुलदीप साह, कोषाध्यक्ष खुश्बु साह, युवा अभियानी अशोक साहसहितको टोलीले साइकल र स्टेसनरीका सामानहरू प्रदान गरेको महासचिव साहले बताए । उनले भने‚ ‘लाडलीले साइकल पाएपछि उनको अनुहारमा सन्तुष्टिको भाव झल्कियो ।’ साथै उनले विद्यालयमा आफ्नै सहपाठीहरूले साइकल पाइरहँदा आफूले भोग्नुपरेको आत्मग्लानीले असह्य पीडा दिएको भावना पोखिन् ।

विद्यालयका शिक्षक समेत साइकल नपाएकी छात्रा खातुन नियमित विद्यालय आउने जेहेन्दार विद्यार्थी भएकाले साइकल दिनुपर्ने बताउँछन् ।
विद्यालयका शिक्षक गौरीशंकर लाल कर्णले यस विषयमा मुख्यमन्त्री कार्यालयको साइकल वितरण फाँटमा व्यापक बहस भएको जानकारी गराए । तर लाडली खातुनलाई भारतीय चेली भएकै कारण साइकल दिइएन ।

No description available.

‘भारतको आधार कार्डको भरमा विद्यालयमा भर्ना लिन मिल्ने, पढाउन मिल्ने अनि वर्षौँदेखि विद्यालय आउने गरेकी बालिकालाई सुविधा दिन किन नमिल्ने ? उनको मनोविज्ञानमा के असर पर्छ ?’ भन्दै युवाहरुले मुख्यमन्त्रीसँग प्रश्न गरेका छन् ।

युवा सञ्जाल धनुषाको आग्रह र अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने धनुषाका प्रभाकर साहको पहलमा सोही ठाउँ बस्ने नेपाली मूलका रञ्जित साहको सहयोगमा एक थान साइकल, स्टेसनरीको सामान उपलब्ध गराइएको सञ्जालका महासचिव साहले बताए ।

४५ वर्षअघि लाडलीका बुवा मो. आलम भारतको सितामढीबाट जनकपुर आएर सानोतिनो व्यापार व्यवसाय गरेर बस्दै आएका थिए । आलमका तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *