बुधबार विश्वासको मत लिँदै मुख्यमन्त्री केसी

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आउँदो भदौ २ गते बुधबार (पर्सि) विश्वासको मत लिँदैछन् । गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका केसीले पर्सि विश्वासको मत लिन लागेका हुन् । ‘मुख्यमन्त्रीजीले पर्सि विश्वासको मत लिँदै हुनुहुन्छ,’ सत्तारुढ दल नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले मकालुखबरसँग भने, ‘विश्वासको मत लिएपछि सरकार तीव्र रुपमा अगाडि बढ्छ ।’

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको दल नेकपा एमाले अल्पमतमा परेपछि माओवादीसँगै कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानको धारा १६८ (२) बमोजिमको सरकार बन्नुपर्ने आग्रह गरेका थिए । केन्द्रमा बनेको गठबन्धनअनुसार प्रादेशिक गठबन्धनका ४१ सांसदले प्रदेश प्रमुख शेरचनलाई उक्त प्रकृतिको पत्र बुझाएपछि निवर्तमान मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । तत्पश्चात् केसी मुख्यमन्त्री बनेका हुन् ।

संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र सदनबाट विश्वासको मत लिनुपर्छ । यद्यपि केसीले भने चाँडै लिने भएका हुन् । ‘विश्वासको मत नलिएसम्म सरकार तीव्र रुपमा अगाडि बढ्न सकेन,’ कनौडियाले भने, ‘त्यसपछि भने सरकारले सबै-सबै कामलाई अगाडि बढाउन सक्छ ।’

विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार

प्रदेशमा अहिले ७ सदस्यीय मन्त्रिपरिषद् छ । मुख्यमन्त्री केसीको नेतृत्वमा अहिले माओवादी–कांग्रेसका १/१, जसपाका ३ र स्वतन्त्र सांसद अजय शाही मन्त्री बनेका छन् । यद्यपि उनीहरुमध्ये ४ जना भने बिनाविभागीय छन् । मुख्यमन्त्री केसीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् थप विस्तार हुने कनौडियाले बताएका छन् । ‘त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार गर्छौँ,’ कनौडियाले भने, ‘त्यसपछि प्रदेशमा सहज रुपमा काम गर्छौँ । बिनाविभागीय माननीयज्यूहरुले पनि मन्त्रालय पाउनुहुन्छ ।’

यस्तै नयाँ सरकारले बजेटसम्बन्धी पुनःविचार गर्ने कनौडियाले बताए । पहिलेको सरकारले बजेटलाई सन्तुलित रुपमा नल्याएको उल्लेख गर्दै कनौडियाले भने, ‘केही परिमार्जन हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *