कोसी कोरिडोर प्रसारण लाइन साताभित्रै सञ्चालनमा आउने

काठमाडौं । कोसी कोरिडोर २२० केभी विद्युत् प्रसारण लाइन १ भदौ मंगलबारदेखि सञ्चालनमा आउने भएको छ । पूर्वी नेपालको संखुवासभा, तेह्रथुम, भोजपुर क्षेत्रमा निर्माणाधिन जलविद्युत् आयोजनाको विद्युत् प्रसारण यही लाइनमार्फत हुने छ ।

आयोजनाअन्तर्गत पर्ने सम्मूर्ण टावर निर्माण पूरा भई कन्डक्टर(तार) समेत जोडिसकेको र अन्य सबै तयारी पूरा गरेर १ भदौबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजनाका प्रमुख राजन ढकालले बताए । यो आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो ।

प्रमुख ढकालाका अनुसार उक्त प्रसारण लाइनलाई हाल ३३ केभी क्षमतामा तुम्लिङटार–इनरुवा खण्ड मात्रै सञ्चालनमा ल्याउन लागिएको हो । आयोजना पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सुनसरीको इनरुवामा निर्माण हुँदै गरेको २२० केभिएको सब स्टेशन तयार भइनसकेकोले तत्काल ३३ केभीमा सञ्चालनमा ल्याउनु पर्ने भएको हो ।

पूर्वी जिल्लाहरुमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत खेर जान नदिन तत्कालका लागि ३३ केभी क्षमतामै प्रसारण लाइन सञ्चालनमा ल्याउन लागिएको हो ।

आयोजनाअन्तर्गत ३२६ वटा टावर निर्माण गरिएको छ ।

उक्त प्रसारण लाइन निर्माण नहुँदा उक्त क्षेत्रका ७ जलविद्युत् आयोजना झण्डै २२ मेगावाट विद्युत् उत्पादन गर्न नसकेको बताउँदै आएका थिए ।

यही प्रसारण लाइनअन्तर्गत पर्न ढुङ्गेसाँघु–बसन्तपुर २२० केभी खण्डको पनि ६० प्रतिशत निर्माण पूरा भइसकेको छ ।

भारतीय एक्जिम बैंकको सहुलियत ऋणमा २०७४ कात्तिकदेखि कोरिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको थियो । पूर्वी नेपालमा निर्माण हुने निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनबाट प्रवाह गर्ने गरी नेपाल विद्युत् प्राधिकरणले आयोजनाहरुसँग विद्युत् खरिद बिक्री सम्झौता(पीपीए) गरेको छ ।

यो लाइनबाट २ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *