पूर्वमुख्यमन्त्री गुरुङको सरकारलाई सुझाव- केन्द्रले अधिकार दिँदैन, जुधिरहनुपर्छ

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा विपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले केन्द्र सरकारको संघीयताप्रतिको दृष्टिकोण नसुध्रिएकाले घच्घच्याइरहनुपर्ने बताएका छन् ।

एमाले संसदीय दलको ज्ञापनपत्र बुझाउँदै उनले संघीयतालाई सफल बनाउन वर्तमान सरकार उत्तिकै जिम्मेवार भएको भन्दै राम्रा कामलाई निरन्तरता दिन सुझाए । गुरुङले केन्द्रीय मानसिकताविरुद्ध जुध्न आग्रह गरेका छन् ।

‘केन्द्रमा जसको नेतृत्व आएपनि संघीयताप्रति उनीहरुको दृष्टिकोण राम्रो छैन । केन्द्रीय मानसिकताका विरुद्ध जुध्नुपर्छ । हामी हिजो पनि जुधेको हो, आज पनि जुध्नुपर्छ,’ उनले थपे, ‘नयाँ योजनाका लागि जग्गा प्राप्ति समस्या छ । अधिकारहरू तल दिन मान्दैनन् । आवाज उठाइराख्नुपर्छ ।’

पहिलो चरणको काम सकिएर दोस्रो चरणको टेन्डर निस्किएका योजनालाई प्राथमिकता दिन उनले आग्रह गरे । सरकार हेरफेर हुँदा राम्रा काम फेर्न नहुने गुरुङको भनाइ छ । ‘संघीय शासन प्रणाली लागू भएपछि पहिलो प्रदेश सरकार हो । नेतृत्व फेरबदल भएको छ, सामान्य कुरा हो,’ उनले भने, ‘प्रदेश सरकार हुनुको अर्थ जनतालाई देखाउनुपर्छ । हिजो अघि सारेका कतिपय राम्रा कामलाई पूर्णता दिनेतिर लाग्नुस् ।’

उनले आफ्नो सरकारले ल्याएका योजना पार्टी र कार्यकर्तासँग लक्षित नभई संघीयता कार्यान्वयनसँग सम्बन्धित भएकाले त्यसलाई निरन्तरता दिन आग्रह गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *