लुम्बिनी प्रदेश

अजय शाहीको प्रश्न : आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्न पाइन्छ ?

काठमाडौं । लुम्बिनी प्रदेशमा बिनाविभागीय मन्त्री बनेका सांसद अजय शाहीले आफूलाई एमालेको ह्वीप नलाग्ने बताएका छन् । ‘मलाई एमालेको ह्वीप लाग्दैन,’ शाहीले मकालुखबरसँग भने, ‘म स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको सांसद हुँ ।’

माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारमा मन्त्री बनेपछि शाहीलाई एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले २४ घन्टे स्पष्टीकरण माग गरेका थिए । स्पष्टीकरण सोधेको ४ दिनपछि शाहीले विज्ञप्तिसमेत निकालेका छन् । विज्ञप्तिमा पनि शाहीले उही कुरा दोहोर्याएका छन् । ‘आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्नु औचित्यहीन र अलोकतान्त्रिक काम हो,’ शाहीले विज्ञप्तिमार्फत भनेका छन्, ‘कार्यक्षेत्र नाघेर एमाले अघि बढ्यो भने कानूनी उपचार खोज्नुपर्ने हुन्छ ।’ शाहीले मन्त्री बनेकै दिन ‘स्पष्टीकरण सोधिए सर्वोच्च जाने’ बताएका थिए ।

शाही गत साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशनमा पनि सहभागी थिए । जुन बैठकलाई एमालेको संसदीय दलको बैठकले बहिस्कार गर्ने निर्णय गरेको थियो । नवलपरासी पश्चिम– १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका शाहीले आफूलााई स्वतन्त्र सांसदको रुपमा चिनाउँदै आएका छन् ।

यता सचेतक भूमिश्वर ढकालले भने स्पष्टीकरण नदिएपछि कारबाहीको भागीदार बन्नुपर्ने बताएका छन् । ‘पार्टीको निर्देशनविपरीत चल्नेलाई अनुशासनको कारबाही लाग्छ,’ ढकालले मकालुखबरसँग भने, ‘२४ घन्टे स्पष्टीकरण नदिएपछि किन कारबाही हुँदैन, कारबाहीमा पर्नुहुन्छ उहाँ ।’

अल्पमतमा परेपछि शंकर पोखरेल नेतृत्वको सरकार ढल्यो, त्यसपछि लुम्बिनीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार बनेको छ । जहाँ, शाही पनि मन्त्री बनेका छन् । केन्द्रीय गठबन्धनअनुसार बनेको सरकारमा कांग्रेस र जसपा पनि सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *