लिड्सको पोस्टमा म्यान–यूको पाँच गोल, ब्रुनोको ह्याट्रिक

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले शानदार सुरूवात गरेको छ । पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसले युनाइटेडबाट पहिलो ह्याट्रिक गर्दा लिड्स ५–१ ले पराजित भयो ।

शनिबारको खेलमा युनाइटेडको गोल संख्या बढाउन थप एक–एक गोल मासन ग्रीनवुड र फ्रेडको नाममा रह्यो ।

२०१३ मा रोभिन भान पर्सीले गरेयता युनाइटेडका कुनैपनि खेलाडीले गरेको यो पहिलो ह्याट्रिक हो। भान पर्सिले एस्टोन भिल्लासँगको खेलमा ह्याट्रिक गरेका थिए । ब्रुनो २०२० को जनवरीमा युनाइटेड आएका हुन्।

लिड्स युनाइटेडले एक गोल मात्र फर्काउन सक्यो । लिड्सका लुके एयलिङले एक गोल गरे ।

ओले गुनार सोल्सायरको युनाइटेडले घरेलु समर्थक माझ ३०औं मिनेटमा पहिलो गोल गर्यो । फर्नान्डेजले पउल पोग्वाको पासमा टिमका लागि पहिलो गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै लुके एयलिङले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तर म्यान यूले ८ मिनेटमा नै तीन गोल थपेपछि लिड्स स्तब्ध बन्यो । ५२औं मिनेटमा मासन ग्रीनवुडले पोग्बाकै पासमा गोल गर्दै टीमलाई अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि पोग्बाकै पासमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल सम्भव बनाए । ६०औं मिनेटमा ब्रुनोले ह्याट्रिक पुरा गर्दा युनाइटेड प्रभावशाली जित निकाल्न सफल भयो । युनाइटेडका लागि पाँचौं गोल ६८औं मिनेटमा फ्रेडले गरे ।

कोभिड १९ महामारीपछि पहिलो पटक समर्थकले मैदानमा गएर टीमलाई समर्थन गर्न पाएका थिए । प्रतियोगितामा आज नै बर्नली र ब्राइटन, चेल्सी र क्रिश्टल प्यालेस, एभर्टन र साउथह्याम्प्टन, लेस्टर र उल्भ्स, वार्टफोर्ड र एस्टन भिल्ला तथा लिभरपुल र नर्विच सिटीबीच खेल हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *