हिमालयन रोडिजको चौथो सिजन सुरु

काठमाडौँ । रियालिटी सो हिमालय रोडिजको चौथो सिजन सुरु भएको छ । आयोजक हिमालय टिभीले शुक्रबार राजधानीमा एक कार्यक्रमका बिच सिजन अफ सर्भाइभल’ नारासहितको शोको घोषणा गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
विगतका वर्षभन्दा केही ढिला सुरु भएको सोको अडिसन डिजिटल रूपमा हुनेछ । कोरोना महामारीलाई ध्यानमा राखेर अडिसन डिजिटल गर्न लागिएको आयोजकले बताएका छन् । एन्ड्रोइड मोबाइलबाट एप डाउनलोड गरेर सोमा सहभागिताका लागि फर्म भर्न सकिनेछ ।
कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले महामारीबाट बच्दै त्यसलाई अगाडि बढाउने बताए । तीन सिजन अमन प्रताप अधिकारीको निर्देशन रहेको शो अहिले भने सिमोस सुनुवारले निर्देशन गर्दैछन् । अनुपविक्रम शाही, दिया मास्के, आशिष राना लाहुरे र समन श्रेष्ठ निर्णायक रहने शो रेमनदास श्रेष्ठले सञ्चालन गर्नेछन् । शोको प्रसारण असोजको पहिलो साताबाट गर्ने आयोजकको तयारी छ ।








