अभिनयमैत्री परिवारकी काजोल

लोकप्रिय बलिउड अभिनेत्री काजोलको पारिवारिक माहोल नै अभिनयमैत्री थियो । उनकी आमा तनुजा अभिनेत्री हुन् भने बाबु शोमु मुखर्जी चलचित्र निर्माता, निर्देशक तथा लेखक हुन् । काजोलले भारतको फिल्म फेयर अवार्ड, पद्म श्रीलगायतका धेरै पुरस्कार र सम्मान प्राप्त गरेकी छन् । त्योभन्दा ठूलो कुरा विश्वका करोडौँ नागरिकले उनलाई एक क्षमतावान कलाकारका रुपमा सम्झिरहनु हो ।

काजोलको अभिनय यात्रा चलचित्र ‘बेखुदी’ मार्फत् सुरु भएको हो । उनको पहिलो सफल चलचित्र भने ‘बाजिगर’ बन्न पुग्यो‚ जहाँ उनले शाहरुख खानसँग अभिनय गरेकी छन् । महत्त्वपूर्ण भूमिका नभए पनि उनलाई यही चलचित्रले दर्शक माझ चिनायो । यसपछि पनि उनले धेरै पटक शाहरूखसँग अभिनय गरिन् । शाहरुख र काजोलको जोडीलाई बलिउडकै सर्वाधिक लोकप्रिय र रुचाइएको प्रेम जोडीमध्येको एक जोडीका रुपमा पनि लिइन्छ ।

चलचित्र ‘गुप्त’ मा गरेको अभिनयले उनलाई नकारात्मक भूमिकामा पनि उत्तिकै अब्बल अभिनेत्रीको रूपमा स्थापित गर्‍यो ।

अक्षय खोज्दा भेटिएका अजय
अक्षय कुमारलाई मन पराउने काजोललाई कहिले पनि अजय देवगणसँग प्रेममा पर्छु भन्ने लागेको थिएन । उनी अक्षयलाई खोज्दै पार्टीहरूमा पुग्ने गर्थिन् । यही क्रममा उनको पहिलो भेट अजयसँग भएको थियो । उक्त समय काजोलले अजयसँग अक्षयलाई खोज्न सहयोग गर्न आग्रह गरेकी थिइन् ।

यही भेटले उनीहरूको जीवनको यात्रा जोडियो । यही भेटपछि यी दुई एक अर्काको नजिक भए, प्रेममा परे र छोटो समयमा नै विवाहसमेत गरे । यी दुईको जोडीलाई बलिउडको सुन्दर जोडीको रूपमा समेत प्रस्तुत गर्ने गरिन्छ । बाहिरको कुरा नसुन्ने र एकअर्काप्रतिको विश्वासकै कारण सम्बन्ध बलियो भएको उनीहरू बताउने गर्छन् । एकै क्षेत्रको जोडी भएर पनि यी दुईले एकसाथ स्क्रीन सेयर गरेको चलचित्र भने ‘तानाजी’ मात्रै हो ।

सन्तानको विषयमा भने काजोल ‘कडा’ रहेको उनी स्वयंले बताउँदै आएकी छन् । दुई सन्तानकी आमा काजोलसँग उनका छोराछोरी डराउने गरेको अजयले समेत अन्तर्वार्तामा बताएका छन् । मिलेको जोडी भए पनि अजयलाई काजोलको धेरै बोल्ने बानी मन पर्दैन । एक चलचित्रमा मात्रै एकसाथ काम गरेकोमा गफ गरेरै काजोलले छायाङ्कनमा ध्यान नदिने गरेको साथै निर्देशकको कुरा नसुनेको अजय बताउँछन् । तर यदि काजोल चुप लागेर बसेमा आफूलाई शून्य महसुस हुने पनि अजय बताउँछन् । कम बोल्न सुझाव दिने गरे पनि काम बाहेकको समय काजोलले बोलिरहेकै मनपर्ने अजयको भनाइ छ ।

अभिनयका कारण छुटेको पढाइ
विद्यालय अध्ययनकै क्रममा अभिनय यात्रामा जोडिएकी उनी विद्यालयमा नृत्याङ्गनाको रूपमा परिचित थिइन् । अभिनयकै कारण उनले आफ्नो पढाइ बिचैमा छाडेकी थिइन् । यही कारण उनका बाबुआमा उनीसँग रिसाएका पनि थिए । पछि विवाहको कुरा आउँदा समेत उमेर कम भएको भन्दै उनका बाबुआमा काजोलको विवाहका लागि तयार थिएनन् । तर‚ उनले आफ्नै जिद्दीका कारण अजयसँग विवाह गरी छोडिन् ।

उनको साहित्यमा पनि विशेष लगाव छ । काजोल अभिनयसँगै कविता लेख्न मन पराउँछिन् । उनलाई ‘साइन्स फिक्सन’ उपन्यासहरू मन पर्छन् । छायाङ्कनबाट फुर्सद मिल्नासाथ उनी पुस्तक समातेर एउटा कुनामा बसेर पढिरहने उनका साथीहरू बताउँछन् । काजोलले भगवान् शिवको पूजा आराधना गर्ने गर्छिन् । उनको हातमा ॐ लेखेको हिराको औँठी सधैँ हुने गर्छ ।

काजोललाई वीर जारा, मोहब्बते, चलते चलते, दिल तो पागल हे, ३ इडियट्स, कभी अल बिदा ना कहना, दिल सेजस्ता सफल चलचित्रबाट कामको प्रस्ताव आएको थियो । तर‚ उनले यी चलचित्रमा भने काम गरिनन् । ४७ वर्षीया काजोल अहिले पनि उत्तिकै व्यस्त छिन् । उनलाई उमेरअनुसार आफूलाई अपडेट गर्न सक्यो भने जहिले पनि जुनसुकै रोलमा फिट हुन सकिन्छ भन्ने लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *