‘फेरि लकडाउन हुनसक्छ, कहिलेबाट भन्न सकिन्न’

८ बजेपछि सवारीसाधनमा रोक किन ?

काठमाडौं । सरकारले बिहीबार (भोलि) बाट काठमाडौँ उपत्यकामा राति ८ बजेबाट सवारीसाधन चल्न नदिने निर्णय गरेको छ । पछिल्लो २/३ हप्तायता कोभिड महामारी बढ्दै गएकाले त्यसलाई रोक्न कडाइ गर्ने निष्कर्षसहित उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि गाडी मोटरसाइकललगायत चल्न नदिने निर्णय गरेको हो ।

अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअल रुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपाली राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेपछि यसको चौतर्फी आलोचना र व्यङ्ग्य पनि भइरहेको छ । यस्तै अब लडकाउन हुने हो कि भन्ने आशंका पनि बढेको छ ।

उपत्यकामा पुनः लकडाउन हुँदैछ ?

पछिल्लो केही हप्तायता काठमाडौँ उपत्यकामा दिनहुँ ३ हजारभन्दा बढी ५ हजारको हाराहारीसम्म संक्रमितसमेत फेला पर्न थालेका छन् । यसैबीच पुनः लकडाउन हुने हो कि भन्ने आशंका र चर्चा हुने गरेको छ । के उपत्यकामा पुनः लकडाउन हुँदैछ ? भन्ने प्रश्नमा ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ढुण्डीराज निरौला भन्छन्, ‘महामारीको बेला छ, हुँदैन नै भन्न त सकिन्न । तर, यही मितिबाट हुन्छ भन्ने पनि छैन ।’

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनअनुसार मात्रै आफूहरू चल्ने प्रजिअ निरौला बताउँछन् । ‘हाम्रो खुसीले मात्रै हुनेवाला पनि केही छैन,’ प्रजिअ निरौलाले भन्छन्, ‘सीसीएमसीले सिफारिस गरेपछि मात्रै हामी अगाडि बढ्ने हो । हामी आफैँले निर्णय गर्दैनौँ’ उनले मकालुखबरसँग भनेका छन् ।

८ बजेपछि सवारीसाधनमा रोक किन ?

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई भन्छन्, ‘कोरोना संक्रमणदर उपत्यकामा बढिरहेको छ । त्यसलाई थप फैलिन नदिने ध्येयका साथ यसो गरिएको । कमसे कम धेरै समय चल्न दिइएन भने पनि सरकारलाई सहयोग पुग्छ भनेर यसो गरिएको हो ।’

साँझ परेपछि मानिस झनै निस्फिक्री रूपमा घुम्ने गरेकाले पनि यस्तो निर्णय गरेको उनले बताए । ‘साँझ परेपछि मान्छेहरू यत्तिकै पनि घुमिरहेका हुन्छन् भनेर रिपोर्टिङ्ग भएको छ,’ प्रजिअ भट्टराईले मकालुखबरसँग भने, ‘यस्ता गतिविधिले झनै संक्रमणलाई बढावा दिने हुन्छ, यस्ता गतिविधिलाई नियन्त्रण गर्न पनि यसो गरिएको हो ।’

८ बजेभन्दा अगाडि नै निवासमा पसिसक्न नागरिकलाई आग्रह गरिएको पनि प्रजिअ भट्टराईले बताए । ‘हामीले त्यो आग्रह पनि गरिसकेका छौँ,’ प्रजिअ भट्टराईले भने, ‘अब महामारीलाई ध्यान दिएर हामीले स्वयम्ले आफ्नो बानी सुधार्नुपर्ने भएको छ । त्यो आफ्नो लागि मात्रै नभएर सबैका लागि फाइदाजनक हुन्छ ।’

सरकार आफैँले मात्रै महामारी नियन्त्रण गर्न नसक्ने प्रजिअ भट्टराईको तर्क छ, भन्छन्‚ ‘सरकारले मात्रै यसो सचेत गराउने हो, यसो गर्नुस्, उसो गर्नुस् भन्ने हो । अपनाउने आफैँले हो, मान्ने आफैँले हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *