२० युनिटसम्म निःशुल्क विद्युत्, आन्तरिक खपतमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उत्पलब्ध गराउने बताएकी छन् । मन्त्रालयमा बुधबार पत्रकारसम्मेलन गरी मन्त्री भुसालले मन्त्रालयको भावि कार्ययोजना सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।

‘२० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउँदा गरिबीको २० लाखभन्दा बढी नागरिकले विद्युत्को सहज पहुँच पाउने छन्,’ उनले भनिन् ।

त्यस्तै, विद्युत खपत बढाउन, आयातित ग्यास लाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजन गर्ने बताएकी छन् ।

कृषि उत्पादन वृद्धि गर्दै कृषिजन्य बस्तुको आयात घटाउन किसानलाई सिचाईमा प्रयोग हुने विद्युतमा अघिकतम सहुलियत प्रदान गर्ने बताइन् ।

गत आर्थिक वर्षमा मात्रै १ खर्ब ६० अर्ब ५३ करोड बराबको पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक छ । जसमा डिजेल ९१ अर्ब ९४ करोड, पेट्रोल ३२ अर्ब ४४ करोड र एलपी ग्यास ३६ अर्ब १५ करोड रहेको छ ।

ग्यास सरकारले प्रति सिलिन्डर ४ सय ४२ रुपैया घाटामा बिक्री गरिरहेको छ । गत आर्थिक वर्षमा मात्रै ३ करोड २७ लाख २५ हजार २ सय ९१ थान सिलिन्डर ग्यास आयात भएको छ । यसबाट देशलाई करिब १० अर्ब रकम घाटा भएको छ ।

‘विदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने नीति रहेको उनले बताइन् ।

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्थापित गर्दै विद्युतीय सवारीसाधनको प्रयोग बृद्दी गर्दै लान विद्युत महाशुलमा सहुलियत दिने र यसै बर्षभित्र ५० ओटा चार्जीङ्ग स्टेशन निर्माण गर्ने बताएकी छन् ।

हेभी ड्युटीका गाडी वाहेक अन्य प्रयोजनका लागि यस मन्त्रालय र मातहतका कार्यालयले विद्युतिय गाडी खरिद गर्ने याेजना छ ।

बढी भएको विद्युत निर्यात गर्न अन्तरदेशीय विद्युत बजारको सुनिश्चितता गर्नेसमेत उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *