प्राधिकरणमा कुलमानको कमब्याक, हितेन्द्रको सरुवा ऊर्जा आयोगमा

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालको सचिवालय स्रोतले जनाएको छ ।

यद्यपी सरकारले औपचारिक रुपमा उक्त नियुक्तिको निर्णय भने सार्वजनिक गरेको छैन । सचिवालयका अनुसार प्राधिकरणमा नियुक्त गर्ने निर्णयबारे घिसिङलाई भने फोनमार्फत जानकारी गराइसकिएको छ । घिसिङलाई संभवतः आजै नियुक्ति पत्र दिने र उनले बुधबार नै पदबहाली गर्ने तयारी समेत भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा कार्यरत हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणी पद सिर्जना गरेर सरुवा गरिएको छ । सरकारको जल तथा ऊर्जा आयोग एक हिसाबले कर्मचारी थन्क्याउने निकाय जस्तो बनाइएकाे छ । जल तथा ऊर्जा क्षेत्रको ‘थिङ्क ट्याङ्क’को रुपमा रहेको आयोगको कामकारवाही हालसम्म प्रभावकारी हुन सकेको छैन ।

यसअघि प्राधिकरणमा नेतृत्वको विकल्पबारे प्रधानमन्त्री तथा ऊर्जामन्त्रीसँग प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलमा आफूले सम्मानजनक बहिर्गमन चाहेको शाक्यले बताएका थिए । उनकै इच्छा अनुसार सरकारले विशिष्ट श्रेणीको पद सिर्जना गरेर ऊर्जा आयोगमा शाक्यलाई पठाउन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *