ओली सरकारको पालामा आर्थिक वृद्धिदर ऋणात्मक

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेको देशको वर्तमान आर्थिक अवस्थाको जानकारी पत्र अर्थात् आर्थिक श्वेतपत्रले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा देशको आर्थिक वृद्धि दर ऋणात्मक अवस्थामा पुगेको तथ्य प्रस्तुत गरेको छ ।
श्वेतपत्रअनुसार आर्थिक वर्ष २०७३/७४ मा ८.६ प्रतिशत र २०७४/७५ मा ७.४ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल भएको थियो । उक्त पृष्ठभूमिमा अत्यन्त सुविधाजनक बहुमतमा बनेको विगतको सरकारले आर्थिक वर्ष २०७५/७६ मा ८.० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । तर, उक्त वर्ष वृद्धिदर ६.४ प्रतिशतमा सीमित हुन पुगेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा यथार्थमा आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक हुन पुगेको थियो । कोभिड–१९ महामारीका कारण उक्त वर्षको आर्थिक वृद्धिदर घटेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा पनि अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको र बजेट मार्फत आर्थिक वृद्धिदर ७.० प्रतिशत रहने अनुमान गरिएकोमा कोभिड–१९ महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेका कारण उक्त वृद्धिदर हासिल नहुने अवस्था देखिएको मन्त्री शर्माले उल्लेख गरेका छन् ।
आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २६.८ प्रतिशत, उद्योग क्षेत्रका १४.६ प्रतिशत र सेवा क्षेत्रको योगदान ५८.६ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा उक्त क्षेत्रहरुको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान गरिएको र यसबाट अर्थतन्त्रको संरचनामा उल्लेखनीय परिवर्तन आएको नदेखिने उनले बताए ।
आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको औद्योगिक क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा न्यून रहनु र त्यसमा पनि उत्पादनमूलक उद्योगको योगदान हाल ५.१ प्रतिशत मात्र हुनुले अर्थतन्त्रको आधार कमजोर रहेको सरकारले जनाएको छ ।
उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानीको अपर्याप्तता, उत्पादनमुखी भन्दा व्यापार केन्द्रित लगानी, उच्च उत्पादन लागत, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा कमी, आर्थिक वृद्धि र रोजगारी सिर्जनाबीचको कमजोर सम्बन्ध, आर्थिक वृद्धिको लाभका असमान वितरण, अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा नघट्नु जस्ता समस्या अर्थतन्त्रमा लामो समयदेखि रहँदै आएको श्वेतपत्रले उल्लेख गरेको छ ।









