प्रत्येक नेपालीलाई ५७ हजार ऋणको भार

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक श्वेत पत्रले सरकारको कुल ऋण बढेर १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको देखाएको छ । यसमा आन्तरिक र बाह्य दुबै ऋणको हिस्सा समेटिएको छ । यी दुबै ऋण वर्षेनी बढ्दै गएको श्वेत पत्रले देखाएको छ । बाह्य ऋण ९ खर्ब २८ अर्ब रुपैयाँ र आन्तरिक ऋण ८ खर्ब १ अर्ब पुगेको हो ।
यही ऋणलाई हाल नेपालको जनसंख्याको आधारमा भाग लगाउने हो भने प्रत्येक नेपालीको थाप्लोमा ५६ हजार ८ सय ७५ रुपैयाँ ऋण भार पर्ने देखिन्छ । तथ्यांक विभागका अनुसार आज नेपालको जनसंख्या ३ करोड ४ लाखभन्दा बढी पुगेको छ । उक्त जनसंख्याले भाग गर्दा झण्डै ५७ हजार ऋणको भार प्रत्येक नेपालीको थाप्लोमा परेको देखिएको हो ।
सरकारी ऋण प्रत्येक वर्ष बढ्दै गएको प्रति अर्थमन्त्री शर्माले श्वेतपत्रमार्फत चिन्ता व्यक्त गरेका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा कुल तिर्न बाँकी सरकारी ऋण ६ खर्ब ९८ अर्ब रुपैयाँ अर्थात् कुल गार्हस्थ उत्पादन(जीडीपी)को २२.७ प्रतिशत थियो । यो २५० प्रतिशतले बढेर आर्थिक वर्ष २०७७र७८ मा १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको हो ।
श्वेतपत्र अनुसार आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक ऋण २ खर्ब २४ अर्ब र वैदेशिक ऋण १ खर्ब ४० अर्ब गरी जम्मा ३ खर्ब ६४ अर्ब बढेको छ। यो कुल संघीय खर्चको ३०.८ प्रतिशत परिचालन भएको छ।
सार्वजनिक ऋण उल्लेख्य रुपमा वृद्धि हुँदै गए पनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हासिल हुन नसकेको श्वेत पत्रमा उल्लेख छ।
त्यस्तै सरकारी ऋण उत्पादक क्षेत्रमा खर्च हुन नसकेकाे भन्दै श्वेत पत्रमा चिन्ता व्यक्त गरिएकाे छ ।









