तामाकोसीको ४३ मेगावाट विद्युत् काठमाडौंमा खपत

४ वटा युनिट सञ्चालनमा, भदौभित्रै सबै युनिट सञ्चालनमा ल्याइँदै

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ४ वटा युनिट सञ्चालनमा आएको छ । ७६ मेगावाट दरका ४ वटा युनिटको विद्युत् उत्पादन क्षमता ३ सय ४ मेगावाट छ । आयोजनाको पहिलो युनिट २१ असार, दोस्रो युनिट २९ असार, तेस्रो युनिट ८ साउन र चौथो युनिट १८ साउनबाट सञ्चालनमा आएको थियो ।

भदौ महिनाभित्रै बाँकी ७६ मेगावाट दरका बाँकी २ युनिट समेत सञ्चालनमा ल्याएर आयोजना भदौपछि ४५६ मेगावाट अर्थात् पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी रहेको आयोजनाका प्लान्ट म्यानेजर (उप प्रबन्धक) पूर्णगोपाल रञ्जितले मकालु खबरलाई बताए ।

उनका अनुसार आयोजनाले उत्पादन गरेको मध्ये ४३ मेगावाट विद्युत् काठमाडौंमा खपत हुन थालिसकेको छ । ‘आइतबार आयोजनाले उत्पादन गरेको ४३ मेगावाट विद्युत् काठमाडौंमा खपत भएको छ,’ उनले भने, ‘माग र आपूर्तिको बीचमा सन्तुलन कायम गर्दै आयोजनाबाट विद्युत् उत्पादन गर्नुपर्ने हुन्छ ।’

त्यस्तै आयोजनाको १८६ मेगावाट विद्युत् गंगोर– न्युखिम्ती हुँदै ढल्केबर सब स्टेशनमा प्रसारण गरिएको छ । आयोजना सञ्चालनमा आएको २१ असारदेखि नै यो प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् प्रसारण सुरु भएको थियो ।

आयोजनाको विद्युत् काठमाडौंमा लैजान आवश्यक प्रसारण लाइन तथा सब स्टेशन निर्माणको काम समेत पूरा गरी सञ्चालनमा ल्याइएकोले विद्युत् प्रासारणमा सहज भएको उनले बताए ।

आयोजनाको विद्युत् काठमाडौं ल्याउन गंगोर–न्युखिम्ती–ढल्केबर र गंगोर–न्युखिम्ती–लामोसाँघु–काठमाडौं प्रसारण लाइन गरी दुई ओटा प्रसारण लाइन प्रयोग गर्न सकिने भएको छ । यी दुबै प्रसारण लाइनका सम्पूर्ण संरचना तथा सब स्टेशनसमेत निर्माण पूरा भई काठमाडौंमा विद्युत् प्रसारण गर्न सकिने अवस्था रहेको उनले बताए ।

यी प्रसारण लाइनमार्फत आयोजनाको ९० मेगावाट विद्युत् काठमाडौं ल्याउन सकिने उनले बताए ।

आयोजनालाई पूर्ण क्षमता अर्थात् ४५६ मेगावाटमै चलाउन रोल्वालिङ खोलाको पानी मिसाउने योजना छ । उक्त योजनामा पनि प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले काम गरिरहेको जनाएको छ ।

निर्माण सुरु गरेको ५ वर्षमा ३५ अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका निर्माण अवधि र लागत दुबै दोब्बर भएर सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *