मौद्रिक नीति यही साता ल्याउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साताभित्र मौद्रिक नीति ल्याउने तयारी गरेको छ । यसअघि गभर्नर महाप्रसाद अधिकारीले संसदको अर्थ समितिसँगको छलफलमा गएको आइबार नै मौद्रिक नीति ल्याउने तयारी गरेको बताएका थिए । तर, सोमबारसम्म पनि मौद्रिक नीति ल्याउन सकेको छैन । मौद्रिक नीति ल्याउन आवश्यक तयारी भने करिब पूरा भइसकेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मकालु खबरसँग बताए । संभव भएसम्म शुक्रबार नै मौद्रिक नीति ल्याउने तयारी रहेको बुझिएको छ ।

‘यो दिन ल्याउने भनेर तोकेका थिएनौं,’ उनले भने, ‘यो साताभित्र ल्याउने तयारी छ ।’ सरकार परिवर्तनसँगै मौद्रिक नीति ल्याउने समय सर्दै गएको छ । गत जेठ १५ मा केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि बजेट अध्यादेश ल्याएपछि ३ साउनमै राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । तर, शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएपछि बजेट संशोन गर्ने सरकारको तयारीसँगै मौद्रिक नीति पछि सरेको हो ।

संसदबाट बजेट अध्यादेश पारित हुन बाँकी छ । उक्त अध्यादेश पारित भएपछि अर्थमन्त्रालयले त्यसलाई संशोधन गरेर प्रतिस्थापन विधेयक संसदमा लानु पर्ने छ । बजेट अध्यादेशलाई प्रतिस्थापन विधेयक पारित गराएर सरकारले आफू अनुकुलको बजेट कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ ।

मौद्रिक नीति ल्याउनु अघि राष्ट्र बैंकको सञ्चालक समिति बैठक बस्नु पर्ने छ । त्यसका लागि पनि तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *