वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । वैदेशिक रोजगारलाई सुरक्षित बनाउनेसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा दर्ता भएको छ । जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला हुन भने कांग्रेसकै सांसदद्वय प्रमिला राई र रामबहादुर बिष्ट समर्थक छन् ।

उनीहरुले कोरोना भाइरस (कोभिड १९) बाट सृजित समस्याले वैदेशिक रोजगारमा कतिले ज्यान गुमाए, कतिले रोजगारी गुमाए, कति स्वदेश फर्किए त्यसको विस्तृत तथ्याङक सरकारसँग माग गरेका छन् । ‘विदेशमा रोजगारीमा रहेका नेपालीहरुको समस्या, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल सरकारको तर्फबाट भएको सहयोग र वैदेशिक रोजगार असुरक्षित भएकोले त्यसलाई सुरक्षित बनाउन सरकारको योजना लगायतका बिषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छौं,’ प्रस्तावक डा. संग्रौलाल भनेकी छन् ।

देशभित्रै रोजगारी गुमाएका र विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरुलाई प्राथमिकताका आधारमा रोजगारी सिर्जना, तालिम, सहुलियतयुक्त ऋण तथा बजार समेत सुनिश्चित गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै पनि बेरोजगार भएका व्यक्तिहरुलाई सरकारले के कस्तो राहत र रोजगारीको व्यवस्था गरेको छ ? प्रदेश सरकार र स्थानीय निकायसंग समन्वय गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना के छ ? त्यसको विस्तृत जानकारी माग गरिएको छ ।

यस्तै, वैदेशिक रोजगार असुरक्षित भएकोले त्यसलाई सुरक्षित बनाउन सरकारको योजना के छ ? अहिलेसम्म सम्झौता तथा समझदारी भएका मुलुकमा अनुगमन किन नभएको हो ? अब कुन कुन देशसँग अनुगमन र श्रम सम्झौता हुँदैछ, त्यसको जानकारी माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *