राजनीतिशास्त्रको पढाइ छाडेर अभिनयमा लागेका आर्यन

काठमाडौँ । सुर्खेतका हरिस सिग्देल कलाकारितामा लागेपछि आर्यन नामबाट परिचित छन् । उनै आर्यनको आज जन्मदिन । अभिनयमा लाग्ने उनको कुनै योजना थिएन । तर यही काम गरेर उनले दर्शकको माया र दाम कमाएका छन् ।

आरआर क्याम्पसमा राजनीतिशास्त्र पढ्दै थिए आर्यन । उनको घरबाट सरकारी जागिर खान दबाब थियो । तर उनी परे बेपर्बाह युवा । यही क्रममै उनका दाजु निराजन सिग्देलले नाच्न मन पराउने आर्यनलाई अभिनयमा लाग्न सुझाव दिए ।

उनलाई पनि हो कि ? झैँ लागेछ । परीक्षा दिन गएका आर्यनले आफ्नो पढाइको उद्देश्य देखेनन् । त्यसैले परीक्षा हलबाट फर्किए उनी । त्योसँगै उनको औपचारिक अध्ययन रोकियो । र, अभिनय यात्राको सुरुवात भयो ।

उनी बिस्तारै अभिनय सिक्दै नृत्य गर्ने तथा अभिनय गर्ने काम गर्थे । टेलिसिरियलमा पनि सानोतिनो काम गर्ने गर्थे । निर्देशक छविराज ओझाले उनलाई एउटा चलचित्रमा लिने योजना बनाए । यहीअनुरूप ओझाले सिग्देललाई आफूले गरेको काम पठाउन भने । सिग्देलले खेलेको टेलिसिरियल ओझाकोमा पुग्यो ।

उक्त समय ओझा र उज्ज्वल घिमिरे मिलेर चलचित्र किस्मत बनाउने तयारीमा थिए । यता उज्ज्वलले समेत काम माग्दा आर्यनले सिडी पठाए । जहाँ उनको नाम हरिस उल्लेख थियो । छविलाई आर्यन मन परेको थियो भने उज्ज्वललाई हरिस ।

यही विषयले कसलाई लिने भन्ने द्विविधा र विवाद पनि सुरु भएको थियो । दुवैले उनलाई भेट्न बोलाए र दुवै व्यक्ति एकै भएको पत्ता लाग्यो । यसरी आर्यनले ओझाको चलचित्र किस्मतमा पहिलोपटक अभिनय गरे ।

रेखा थापासँग पहिलो पटक ठुलो पर्दा सेयर गर्न पाएका आर्यनको भाग्य यही चलचित्रले परिवर्तन गर्‍यो । दोस्रो चलचित्र ‘मौसम’मार्फत उनले सर्वोत्कृष्ट अभिनेता बनेर राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरे ।

चकलेटी हिरोका उपनाम पाएका आर्यनलाई जन्मदिनको शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *