‘बहिस्कार’ गर्नेलाई बहिस्कार सुनाउँदै दुर्गेश

काठमाडौँ । नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेश थापालाई बहिस्कार गरेको घटना अहिले चर्चामा छ । कुनै संस्थाले एक व्यक्ति, जो उक्त संस्थामा आबद्धसमेत छैनन्, उनलाई बहिस्कार गर्न पाउँछ/पाउँदैन त्यो चर्चाको विषय भयो । तर, दुर्गेशले भने आफूमाथि प्रतिष्ठानले विभेदपूर्ण व्यवहार गरेको बताउँदै आएका छन् । उनले आफूले समयअनुकूल युवाले मन पराउने गीत बनाउने बताउँछन् ।

यही घटनाक्रम र ‘बहिस्कार’ शब्दलाई लिएर उनले पुनः नयाँ गीत बनाउने भएका छन् । यस अघिसमेत ‘आलु’ भनेर उनलाई ट्रोल बनाउनेप्रति लक्षित गर्दै उनले ‘आलुजस्तो गायक’ गीत सार्वजनिक गरेका थिए ।  उनले सामाजिक सञ्जाल मार्फत ‘बहिस्कार’ को पोस्टर सार्वजनिक गर्दै लामो स्ट्याटस सेयर गरेका छन् । उक्त गीतको रेकर्डिङ छिट्टै नै गरेर भदौको पहिलो साता भिडिओ सार्वजनिक गर्ने उनको तयारी छ । आफू सिर्जना गर्ने व्यक्ति भएकोले विरोधको जवाफ गीतमार्फत दिन लागेको उनले बताएका छन् ।

उनले पोस्ट गरेको लामो स्ट्याटसमा आफू प्रतिष्ठानको निर्णयबाट असन्तुष्ट रहेको बताएका छन् ।  साथै आफूले प्रयोग गरेको ख्यास्स पुतली’ शब्द सामान्य बोलीचालीको भएको बताएका छन् ।  उक्त गीत लोक तथा दोहोरी केही पनि नभएको समेत उल्लेख गरेका छन् । उनले प्रतिष्ठानमा रहेको काम गरिसकेका केही व्यक्तिहरू बद्री पङ्गेनी, कुमार बस्नेत, कोमल वली, प्रजापति पराजुलीका गीतहरू उल्लेख गर्दै ती गीत सहर्ष स्वीकारिएकोप्रति आपत्ति जनाउँदै प्रतिष्ठानको निर्णय विरोधाभासपूर्ण भएको बताएका छन् ।

केही दिन अघि उनले तीज गीत भन्दै निकालेको ‘बिच बिचमा ४ ‘ (ख्यास्स पुतली) को शब्दलाई लिएर विरोध भइरहेको छ भने प्रतिष्ठानले उनलाई बहिस्कार गर्ने निर्णय समेत गरेका छन् ।  यो सँगै साङ्गीतिक क्षेत्रका व्यक्तित्व तथा श्रोता दर्शक दुई भागमा विभाजित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *