मनाङ र मुस्ताङ नेपालकै पहिलो कोरोना खोप सुनिश्चित जिल्ला

पोखरा । हिमालपारीका जिल्ला हुन्, मनाङ र मुस्ताङ । चीनसँग सिमाना जोडिएका यी दुई जिल्ला जनसंख्याको हिसाबले निकै साना छन् । जनसंख्या कम भएकाले दुवै जिल्ला नेपालकै पहिलो कोरोना खोप सुनिश्चित जिल्ला बनेका छन् ।

सरकारले १८ वर्षमाथिका सबै उमेर समूहलाई खोप पठाएर नागरिकले पाएपछि यी दुई जिल्ला कोरोना खोप सुनिश्चित जिल्ला बनेका हुन् ।

मुस्ताङका ९ हजार र मनाङका ४ हजारभन्दा बढी नागरिकले खोप लगाइसकेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मनाङमा सोमबारसम्ममा र मुस्ताङमा मंगलबारसम्ममा सबैले खोप लगाएका हुन् । पूर्ण खोप सुनिश्चित भएका जिल्लामा पहिलो मनाङ र दोस्रो मुस्ताङ भएको स्वास्थ्य सचिव विनोदविन्दु शर्माले जानकारी दिए ।

मनाङमा ४ हजार ३३ जनाले खोप लगाएका छन् । तर कोभिसिल्डको दोस्रो डोज लगाउन अझै १ सय ६५ जना बाँकी छन् । यहाँ कोभिसिल्डको पूर्ण खोप २ हजार ९६ र जोन्सन एन्ड जोन्सनको २ हजार २७ तथा भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।

मुस्ताङमा ९ हजार ४ सय जनाले खोप लगाएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले बताए । उनका अनुसार कोभिसिल्ड ३ सय २१, जोन्सन एन्ड जोन्सनको ६ हजार ५ सय डोज र ४ हजार ४ सय ८० डोज भेरोसेल लगाइएको हो । गण्डकी प्रदेशभर ५ लाख २३ हजार ३ सय २० जनाले खोप लगाएका छन् । त्यसमध्ये १ लाख ७७ हजार ११ जनाले दोस्रो डोज लगाएको तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *