पदाधिकारी हटाउने सहमतिमा टुङ्गियो बीपी प्रतिष्ठानको आन्दोलन

विराटनगर । सरकार परिवर्तनसँगै बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन स्थगित भएको छ । प्रतिष्ठानमा भएको भ्रष्टाचारको बारेमा प्रतिष्ठानको हाडजोर्नी विशेषज्ञ तथा फ्याकेल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई एसएमएस गरेको विषयलाई लिएर उनलाई स्पष्टीकरण सोधिएको थियो ।

उनले गरेको एसएमएसमा प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने भनिएको थियो । त्यही एसएमएसलाई आधार बनाएर प्रतिष्ठान उपकुलपति डा. ज्ञानेन्द्र गिरीले पोखरेललाई स्पष्टीकरण सोधेका थिए । के खेज्छस् कानो आँखो भने झैँ भित्रभित्रै गुम्सिएर रहेको अभिव्यक्ति आन्दोलनको रुपमा बाहिर आउने आधार बन्यो ।

एसएमएसका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले धम्कीसहितको स्पष्टीकरण सोधेको चिकित्सकहरूले आरोप लगाएका थिए । सोधिएको स्पष्टीकरण गोप्य हुनुपर्नेमा पत्रपत्रिकामा छापिएकाले पनि डाक्टरहरू आन्दोलित भएको फ्याकेल्टी वेल्फेयर सोसाइटीका महासचिव तथा संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले मकालुखबरलाई बताएका थिए ।

झण्डै एक महिना २० दिनपछि प्रतिष्ठानको आन्दोलन टुङ्गिएको छ । यो अवधिमा आन्दोलनले उत्कर्षमा पुगेर ठूलो उपलब्धी हासिल गरेको छ । यसअघिका प्रतिष्ठानका आन्दोलन पनि भ्रष्टाचारको विषयलाई नै लिएर हुँदै आएको भएपनि कर्मचारीहरूबाटै बचाउ हुने गरेकाले आन्दोलन बीचमै तुहिँदै आएको कर्मचारी स्रोत बताउँछ ।

प्रतिष्ठानका एकजना कर्मचारीलाई स्पष्टीकरण सोधेपछि गत असार १ गतेदेखि शुरु भएको आन्दोलन अहिले उपकुलपतिसहितका पदाधिकारी हटाउने बिन्दुमा पुगेर टुङ्गिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिबीच सहमति पत्रमा हस्ताक्षर भएसँगै लामो समयदेखिको आन्दोलन अन्त्य भएको छ । आन्दोलन अन्त्य भएपनि भ्रष्टाचारको अन्त्य हुने/नहुनेमा अहिले पनि दुविधा रहेको धरानको प्रतिष्ठानलाई नजिकबाट नियालेका स्थानीय बताउँछन् ।

बुधबार भएको सहमतिको बुँदा नम्बर २ मा अहिले रहेका पदाधिकारीलाई हटाउने उल्लेख गरिएको छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ को दफा ११ (घ) मा व्यवस्था भएअनुसार प्रतिष्ठानमा कार्यरत चारै जना पदाधिकारीहरूलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट शुरु गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

अहिले भएका पदाधिकारीहरू कतिपय आफ्नै कमीकमजोरीका कारण हट्दैछन् भने कतिपय राजनीतिक प्रतिशोधको रुपमा लिएर हटाइँदैछ । ‘अब उप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लगि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने,’ सहमति पत्रमा भनिएको छ‚ ‘कार्यविधि तर्जुमा गर्दा २०७८ साउन १९ गते सार्वजनिक भएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदन मापदण्डसम्बन्धी प्रतिवेदनको प्रचलित कानुनसमेतको आधारमा तर्जुमा गर्ने ।’

त्यसपछि मात्र संयुक्त संघर्ष समितिले आन्दोलन स्थगित गर्ने भनेका छन् । नागरिकको स्वास्थ्यसँग जोडिएको संस्थामा लामो समयसम्म भएको आन्दोलन एउटा बिन्दुमा गएर स्थगित भएको छ । आन्दोलनको उपलब्धि पदाधिकारीको बर्खास्तीलाई मात्र लिने या त्योभित्रको सेवा सुधार र गुणस्तरलाई मात्र लिने हो । आन्दोलन गरेर उपलब्धी हाँसिल गरेका चिकित्सक डाक्टरहरूमाथि नागरिकहरूको प्रश्न तेर्सिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *