सम्मानजनक रुपमा पद छाड्न तयार छु : कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफू पद छाड्न तयार रहेको बताएका छन् । सरकारले राजीनामा मागेको भोलिपल्ट कार्यकारी निर्देशक शाक्यले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । आफू सरकारले खटाएको जुनसुकै पद र स्थानमा रहेर काम गर्न तयार रहेको भन्दै सम्मानजनक रुपमा बाहिरिन कुनै समस्या नरहेको बताए । तर, आफूमाथि अपमान र अन्याय भए अदालत जाने उनले बताए ।

‘अन्याय भए अदालत जाने हो नत्र किन अदालत जानु,’ उनले भने ।

कुराकानीका क्रममा उनले सरकारले राजीनामा मागेको भनेर हल्ला गरिएको भए पनि सरकारले आफूसँग राजीनामा नमागेको बताए । उनले आफूलाई प्रधानमन्त्री र मन्त्रीले बोलाएर बैकल्पिक व्यवस्थाबारे छलफल गरेको दाबी गरेका छन् ।

सरकारले भने प्राधिकरणमा यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै ल्याउने गरी तयारी अघि बढाइसकेको छ ।

सरकार परिवर्तन भएसँगै अघिल्ला प्रधानमन्त्री केपी ओलीको जोडबलमा आएका शाक्यको कार्यकालमा प्राधिकरण झनै घाटामा गएको भन्दै ऊर्जा मन्त्री पम्फा भुसालले असन्तुष्टि जनाउँदै आएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *