किशोर कुमारले चार जनासँग गरेका थिए विवाह

एजेन्सी । किशोर कुमार यस संसारमा छैनन् । तर उनको आवाजको जादु भने अझै फैलिँदो रूपमा छ । उनको गीत, सङ्गीत प्रेमीहरूको पहिलो छनौटमा पर्ने गरेको छ । उनले हिन्दी, बङ्गाली, असमिया, गुजराती, भोजपुरी, कन्नड, मलयालम र उर्दू भाषामा गीत गाएका थिए । किशोरको जन्म ४ अगस्ट १९२९ मा मध्य प्रदेशको खंडवामा भएको थियो । बाल्यकालमा उनको नाम आभास कुमार गांगुली थियो ।

केएल सहगलका गीतहरूबाट प्रभावित थिए किशोर र उनीजस्तै गायक बन्न चाहन्थे । यही सपना पछ्याउँदै उनी १८ वर्षको उमेरमा सहगललाई भेट्न मुम्बई पुगे, तर उनको इच्छा पूरा हुन सकेन । त्यति बेलासम्म उनका दाजु अशोक कुमारले एक अभिनेताको रूपमा आफ्नो छवि निर्माण गरिसकेका थिए । किशोरले पनि केही समयमा नै आफ्नो छुट्टै नाम बनाए । तर उनको जीवनमा एउटा यस्तो समय आयो‚ जुन समय किशोरसँग कुनै काम थिएन ।  त्यसैले उनी विभिन्न समारोहमा पुगेर गीत गाउन थाले । त्यस्तै,  उनको व्यक्तिगत जीवन पनि उतारचढावले भरिएको थियो । उनले चार पटक विवाह गरे । किशोर कुमार एक गायक र अभिनेताको रूपमा धेरै प्रसिद्ध थिए । तर उनमा केटीहरू परिवर्तन गर्ने लत नै लाग्यो । यही कारण नै उनले चार पटक विवाह गरे । आज उनको जन्मदिन हामी यही विषयमा चर्चा गर्दैछौँ :

किशोरको पहिलो विवाह सन् १९५० मा गायिका एवं अभिनेत्री रुमा गुहासँग भएको थियो । विवाहको ८ वर्षपछि उनीहरूको सम्बन्धमा दरार सुरु भयो र अन्तमा डिभोर्स भयो । किशोर र रुमाका एक छोरा अमित कुमार छन् । उनी गायक हुन् । रुमाको २०१९ को जूनमा निधन भयो ।

रुमासँग सम्बन्ध विच्छेद भएपछि किशोरले अभिनेत्री मधुवालासँग विवाह गरे । किशोर र मधुवाला धेरै चलचित्रमा एक साथ काम गर्दै थिए र यही क्रममा प्रेममा परे । उनीहरूले १९६० मा विवाह गरे । तर विवाहपछि मधुवालाको मुटुमा प्वाल रहेको थाहा भयो । किशोरले उनलाई उपचारका लागि लन्डन लगे । विवाहको केही वर्षपछि नै मधुवालाको मृत्यु भयो ।

मधुवालाको निधनपछि योगिता बाली किशोरको जीवनमा प्रवेश गरिन् । तर‚ यो विवाह पनि दुई वर्षमा नै टुट्यो ।

तेस्रो विवाह विच्छेदपछि किशोरले आफूलाई काममा व्यस्त बनाउन थाले । उक्त समय उनी ‘प्यार अजनबी है’ को छायाङ्कनमा थिए । लीना चन्दावरकर पनि यस चलचित्रमा थिइन् । काम गर्दागर्दै यी दुईबीच प्रेम फक्रियो । दुवैले बिहे गर्ने निर्णय गरे । तर लीनाका बुबा भने यो विवाहको विरुद्धमा थिए । किनभने यी दुईबीच २० वर्षको उमेर अन्तर थियो । तर‚ लीनाले आफ्नो बुबाको भनाइलाई नजरअन्दाज गरी किशोरसँग विवाह गरिन् । उनीहरू दुवैका एक छोरा सुमित कुमार छन् । विवाहको सात वर्षपछि १९८७ मा किशोर कुमारको मृत्यु भयो । त्यसपछि लीना छोरासँग आफ्नो जीवन बिताइरहेकी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *