गण्डकीका प्रदेश प्रमुख गुरुङले कार्यभार सम्हाले

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कार्यभार सम्हालेका छन् । एकसाताअघि दुई प्रदेशमा प्रदेश प्रमुख हेरफेर गरिएको थियो । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले यसअघि नै काम थालिसकेका छन् भने गण्डकीका गुरुङले सोमबार कार्यभार सम्हालेका हुन् ।

उनलाई प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, मन्त्री तथा सांसद र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारीलगायतले स्वागत गरेका थिए । गण्डकीमा चौथो पटक प्रदेश प्रमुख फेरिएका हुन् । राजनीतिक अस्थिरताका कारण पटक पटक प्रदेश प्रमुख फेरिएपछि संघीयतामाथी फरक टिप्पणी हुन थालेको छ । सुरुमा कांग्रेसनिकट बाबुराम कुँवर प्रदेश प्रमुख नियुक्त भएका थिए । जतिबेला कांग्रेस र माओवादीको संयुक्त सरकार थियो ।

पछि कांग्रेस सरकारबाट बाहिरियो, एमाले र माओवादीको गठजोड मिल्यो । माओवादीनिकट अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएर पठाइयो । त्यसपछि पनि माओवादी र एमालेको गठबन्धन टुट्यो, एमालेले आफ्नै पार्टीकी नेतृ सीताकुमारी पौडेललाई प्रदेश प्रमुखको रुपमा पठायो । अहिले संघीय सरकार फेरिएको छ । कांग्रेसको नेतृत्वमा माओवादी, एमालेको एउटा समूह तथा जनता समाजवादी पार्टी सरकारमा छन् ।

एमालेले नियुक्त गरेका प्रदेश प्रमुख फेरेर कांग्रेस र माओवादीनिकट प्रदेश प्रमुख नियुक्त गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख गुरुङ कांग्रेस नेता हुन् । लुम्बिनीमा भने माओवादी नेता (यसअघि गण्डकीका प्रदेश प्रमुख) अमिक शेरचन प्रदेश प्रमुख बनेका छन् । पदवहालीमा उनले संविधान प्रदत्त अधीनमा रहेर प्रदेशको हक र हितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *