भारतीय महिला हक्की टीम पहिलोपटक ओलम्पिकको सेमीफाइनलमा

काठमाडौँ । भारतीय महिला हक्की टीम पहिलो पटक ओलम्पिकको सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ । भारतले क्वाटरफाईनलमा ३ पटकको च्याम्पीयन अस्ट्रेलियालाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

भारतका लागि खेलको २२औँ मिनेटमा गुरजीत कौरले गरेको गोल निर्णायक भयो ।

भारतले फाईनल प्रवेशका लागि ४ अगस्टमा अर्जेन्टिनासँग खेल्नेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा जर्मनीलाई ३-० ले पराजित गरेको थियो ।

१९८० मा भारतीय महिला टीमले पहिलो पटक ओलम्पिक खेलेको थियो । तत्कालीन समयमा समूहचरणमा राम्रो अंक ल्याउने दुई टीमले फाइनलमा स्थान बनाउथे । त्यतिबेला भारतीय टीम चौथो नम्बरमा रहेको थियो । तर प्रतियोगिता विस्तारित र विस्तृत भएसँगैको यो ठुलो स्पर्धामा भारतले पहिलो पटक महिला हक्कीको सेमीफाइनलमा स्थान बनाएको हो ।

भारतीय महिला टीमले समूहचरणमा लगातार तीन खेल हारेर पुनरागमन गरेको थियो । उसले आयरल्यान्ड, दक्षिण अफ्रिकालाई हराएर क्वाटरमा स्थान बनाउँदा स्वर्ण दाबेदार अस्ट्रेलियालाई क्वाटरफाइनलमा स्तब्ध बनायो ।

यसअघि पुरुष हक्की टीम पनि ४९ वर्षपछि ओलम्पिकको सेमीफाइनलमा प्रवेश गरेको थियो । उसले क्वाटरफाइनलमा इंग्ल्यान्डलाई ३-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *