पार्टी एकताको कुरा चल्दै गर्दा एमालेद्वारा महाधिवेशन प्रस्ताव पारित

काठमाडौं । पार्टीमा चलेको आन्तरिक विवाद मिलाएर पार्टी एकता गर्ने विषयमा छलफल चलिरहँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान महाधिवेशनको प्रस्ताव पारित गरेको छन् ।

एमालेका दोस्रो तहका नेताहरूले कार्यदल नै बनाएर पार्टी एकताका लागि प्रयास गरिरहँदा बैठकले भने अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले सारेको विधान महाधिवेशनको प्रस्ताव पारित गरी आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासल ललितपुरमा बसेको स्थायी कमिटीको बैठकले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा‚ सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

यसैगरी सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले यी प्रस्तावहरूलाई अन्तिम रुप दिन र यस सम्बन्धमा अन्य आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको बैठक आगामी हप्ता आयोजना गरिने बताए ।

बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरूमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरूमा र पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्नेगरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *