झापामा निषेधाज्ञामा कडाइ, हिँडडुल गर्न रोक

विराटनगर । झापामा आइतबारदेखि कडाइका साथ निषेधाज्ञा सुरु गरिएको छ । कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै जान थालेपछि कडा निषेधाज्ञा लागू गरिएको हो । मानिसलाई आवातजावातसमेत रोक्ने खालको निषेधाज्ञा शुरु भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले साउन २३ गतेसम्म निषेधाज्ञालाई कडा बनाएको हो । झापामा कोभिड-१९ को संक्रमणबाट ४४५ जनाको मृत्यु भइसकेको छ । हाल आइसोलेसनमा दुई हजार ४ सय १३ सक्रिय संक्रमित रहेका छन् ।

प्रदेश १ का १४ जिल्लामध्ये झापामा कोभिड-१९ को संक्रमणको जोखिम बढ्दो क्रममा रहेको स्थानीय प्रशासनले जनाएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनद्वारा जारी भएको ७ दिने निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ ।

झापा जिल्लामा बसेको जिल्ला कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार गएराति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यसञ्चालन गर्न नपाइने, जिल्लाबाहिर अनिवार्य जानैपर्ने भएमा सवारी पास लिनुपर्ने व्यवस्था गरिएको छ ।

हाट बजार, भेला, जात्रा, महोसत्व पार्टी, भोजलगायतका कार्य नगर्न आग्रह गरिएको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

छोटो दूरीका सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा रोक लगाइएको छ । यद्यपि पूर्वपश्चिम राजमार्गमा लामो तथा मध्यम दूरीका सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *