खुल्ला विश्वविद्यालयको अवधारणा र नेपाली अभ्यास

नेपालमा खुल्ला विश्वविद्यालयको ईतिहास खासै लामो छैन । पहिला विश्वविद्यालयमा विद्यार्थी आउनुपर्छ भन्ने बुझाइ थियो भने
अहिले विश्वविद्यालय नै विद्यार्थी भएको ठाउँमा पुग्दछ । अवधारणागत रुपमा नेपालमा यो नयाँ अभ्यास पनि हो । दुर्गम गाउँघरमा रहेर ईन्टरनेटको पहुँचमा रहेका विद्यार्थीले आफ्नै घरमा बसेर विश्वविद्यालयको अध्ययन गर्न सक्छन् । त्यसैले पनि खुल्ला विश्वविद्यालयको अवधारणाले नेपालको दुर्गम गाउँघरमै रहेर उच्च शिक्षाको बाटो खोलिदिएको छ । यसबारेमा प्रा. चैतन्य मिश्र समाज विज्ञान प्रतिष्ठानले मकालुखबरसँगको सहकार्यमा गरेको खुल्ला विश्वविद्यालयको अवधारणा र अहिलेको अवस्थाबारेको छलफलमा सहभागी व्यक्तित्वले राखेको विचारको सम्पादित अंशः

प्रा. डा. लेखनाथ शर्मा, त्रिवि शिक्षा शास्त्र संकाय
वि.सं. २०३७/३८ सालतिरको सरकारी कागजातमा हामीले हेर्‍यौं भने नेपालमा खुल्ला विश्वविद्यालय शुरु गर्ने भनेर लेखिएको पाइन्छ । यसपछि लामो समय चुपचापको अवस्था रह्यो । तर बीचमा ०५६/५७ सालतिर पनि खुला विश्वविद्यालयका लागि भनेर बजेट नै विनियोजन गरेको देखिन्छ । सोही बजेटबाट मानिसले यसको सम्भाव्यताका लागि विभिन्न भ्रमण गरेको पाइन्छ । वि.सं. २०६८ सालतिर आएर पुर्वाधार विकास समिति बन्यो । र मसँगै काम गर्नुहुने कमल ढकाल संयोजक बन्नुभयो । त्यसपछि तीनजना अन्य व्यक्ति त्यहाँ आएर काम गर्नुभयो । तीनवटा कमिटीले काम गर्‍यो । विश्वविद्यालय स्थापनाको चरणमा आउँदा कुनै पनि भौतिक तथा मानवीय स्रोतहरूको कुरा उल्लेख गरिएको थिएन ।

त्यसले गरेको काम भनेको विश्वविद्यालयको ऐन ल्याउनु हो । र म आफैँ पनि त्यसमा अलि अलि सामेल थिए । तर ऐनमात्रै प्राप्त भयो ।

विश्वविद्यालय स्थापना भइसकेपछि हामीले हाम्रो नियुक्ति हुँदाखेरि मलाई नियुक्ति पत्र र एउटा ऐनको फोटोकपी दिएर ‘तँ भीसी भइस्’ भनियो । त्यो अवस्थाबाट यो विश्वविद्यालयको शुरुवात भएको हो । यसमा एनआरएनको र सरकारको एउटा सम्झौता देखिन्छ । सहकार्यमा काम गर्नेगरी एउटा प्रोजेक्टका रुपमा उहाँहरूले २०१० देखि नै घोषणा गर्नुभएको हो । २०१३/१४/१५ तिर धेरै काम पनि गरिसक्नुभएको छ । साथै यसको शुरुवाती अवस्थामा योगदान पनि त्यत्तिकै महत्वपूर्ण छ । सन् २०१६ मा ऐन बनेर आइसकेपछि औपचारिक रुपमा यो युनिभर्सिटी शुरु भयो ।

हामीले खास एकेडेमिक कार्यक्रमको स्थापना सन् २०१८ को शुरुवातमा गर्‍यौँ । त्यतिबेलासम्म केही पनि थिएन । अहिले युनिभसिर्टीको मुख्य उद्देश्य भनेकै वैकल्पिक तवरबाट शिक्षा प्रदान गर्नु हो । एक अर्थमा भन्दा अन्य विश्वविद्यालयभन्दा यो विश्वविद्यालय वैकल्पिक विश्वविद्यालय हुनेछ ।

वैकल्पिक भन्नाले यस विश्वविद्यालयमा शिक्षा प्राप्त गरेको विद्यार्थीले आफूले लिएको शिक्षाको क्वालिटीको विकास गर्नेखालको शिक्षा र बजार अथवा आफ्नो कार्यक्षेत्रमा जाँदा उनीहरूले आफ्नो प्रस्तुति देखाउन सक्ने खालको क्वालिटी एजुकेसन प्रदान गर्नेगरी अगाडि बढ्नु हो । विद्यार्थी जहाँ जहाँ बस्छन्‚ जहाँ काम गर्छन्‚ त्यहिँ नै युनिभर्सिटी पुर्‍याउनु हाम्रो अर्को उद्देश्य हो । र यसका लागि विश्वविद्यालय प्रतिबद्ध छ । स्टान्डर्ड‚ क्वालिटी‚ सर्टिफिकेट र मान्यता दिनका लागि शिक्षा कार्यक्रममा एउटै कार्यक्रम ११ सय कलेजहरूमा चलाउनुपर्ने भन्ने नियम छ ।

तर त्यस्ता कार्यक्रममा विविधता चाहिन्छ । एकेडेमिक‚ व्यवसायिक, पेशागत, टेक्निकल जे कार्यक्रम भएपनि त्यो दिनुपर्दछ । यसको मतलब सबै सिकाइचाहिँ अनलाइनबाटै हुन्छ भन्ने पनि होइन । तर अहिले यो धेरै सम्भव छ । सँगसँगै रिर्सच‚ डिजिटल साधन र टुल्सहरूमा पनि पहुँच हुनुपर्‍यो र सीप पनि हुनुपर्‍यो । त्यसलाई चलाउनका लागि सीप पनि उत्तिकै आवश्यक छ । अर्काे महत्वपूर्ण कुरा मोटिभेसनको पाटो हो । संसारमा खुला विश्वविद्यालयको अभ्यास त पुरानै हो‚ तर नेपालमा भने नेपाल खुला विश्वविद्यालयको अभ्यास २०७३ देखि नै शुरु गरेको छ ।

कुन विश्वविद्यालयले कुन बेन्चमार्क लिनुभएको छ‚ त्यो आफ्नो ठाउँमा रह्यो । तर नेपाल खुला विश्वविद्यालयको चाहिँ बेलायतमा खुला विश्वविद्यालयको जुन स्ट्यान्डर छ‚ त्यसैलाई बेन्चमार्क मानेर त्यहाँसम्म पुग्ने कोसिस गर्ने भन्ने हो । त्यसैले खुला विश्वविद्यालयले ब्लान्डेड मोडल लिएको छ, त्यहाँ फेस टू फेस पनि छ । र सँगसँगै २५ प्रतिशत भर्चुअल अनलाइनबाट डेलिभर गराउने भन्ने पनि हो । ६० प्रतिशत चाहिँ अनलाइन गर्ने र अरू भौतिक रुपमा पढ्ने हो । तर‚ हामीकहाँ चाहिँ दिनकै कक्षाहरू लिँदा नै प्रभावकारी हुने देखिएकाले यो नै अभ्यासमा गएको हो ।

खुल्ला विश्वविद्यालयमा अहिले २९ वटा कार्यक्रमहरू छन् । तीनवटा संकायअन्तर्गत ६ वटा विधामा नयाँ भर्ना भएकाहरू पनि छन् । योसहित अहिले ३१ जति भएको होला । र अर्काे शैक्षिक सत्रसम्ममा झण्डै अर्काे ५-६ वटा थपिने हुन सक्छ ।

अहिले तीन हजारको हाराहारीमा विद्यार्थी पढ्छन् । पछिल्लो समय सर्टीफीकेटका लागि भर्ना हुन्छन् भन्ने जुन कुरा छ‚ हाम्रो विश्वविद्यालयमा त्यस्तो हुँदैन । करिब ३०० जना विद्यार्थीले फारम भर्छन् र कतिजना विद्यार्थी तोकिएको छ‚ त्योभन्दा बढीलाई हामीले भर्ना लिदैनौँ । हामीले धेरै काम गर्दागर्दै पनि चार वर्षको कार्यकालमा गर्न नसकेको ल्यान्ड एन्ड बिल्डिङ आफ्नै बनाउनुपर्ने थियो‚ त्यो सकिएन । तर कमिटी बनाएर जग्गा आफैँले खोजेका छौँ । यीमध्ये जुनकुनै स्थानमा भएपनि केन्द्रीय कार्यलय बनाए हुने अवस्था आएको छ ।

ऐनले चाहिँ केन्द्रिय कार्यलय सरकारले तोकेको ठाउँमा हुनेछ भनेको छ । तर त्यो काम भने केही कारणले गर्दा हुन सकेन । त्यसमा लगानी गर्नका लागि पैसा र तयारी दुवै छ । तर पनि कतिपय कारणले हुन सकिरहेको छैन । केहि कार्यक्रम चलाउन गरिएका योजनाहरू सफल भएनन् । आफ्नै सम्पत्तिमा स्टडी सेन्टर राख्न सकिएन‚ ईन्टरनेसनल स्टडी सेन्टरको माग धेरै थियो तर‚ त्यो राख्न सकिएन । र अन्य केहि यस्ता कार्यक्रमहरू गर्न सकिएन । तर बिस्तारै योजनाअनुसारका काम भइरहेको अवस्था छ ।

नियमित विद्यालय अहिलेको आवश्यकता भएको भएर हामीले नियमित रुपमा पनि आएर पढ्न सकिने व्यवस्था गरेका हौँ । अन्य युनिभर्सिटीभन्दा फरक ढङ्गले अगाडि बढ्ने हाम्रो तयारी छ ।

प्रा. डा. बेदप्रसाद गिरी
मेरो काम गर्दाको अनुभव हो, कुनै पनि नयाँ संस्थालाई जरैबाट उठाउन निकै गाह्रो रहेछ । सानो टीम हुदाँहुदै पनि कडा परिश्रम गरेर सबै प्रकारका कामहरू गरियो । सम्पूर्ण जिम्मेवारी वहन पनि गरियो । यस्तो रोलमा योभन्दा पहिले काम गरिएको थिएन । लेखनाथ सरले गरिरहेको कामलाई सहयोग गर्नै मौका मैले पनि पाएँ । यसरी हेर्दा मलाई के महसुस भयो भने धेरै प्रकारका कामहरू गरिरहनुपर्ने भएकाले नयाँ संस्थालाई ग्राउन्डबाटै लिफट्अप गर्ने काम निकै गाह्रो रहेछ ।

एउटै टीम र एउटै रफ्तातारमा काम गर्न नसक्दा विभिन्न खालका समस्या देखिँदा रहेछन् । तर पनि धेरै प्रकारका बाधा अनि हार्डवर्किङबाट पनि हामीले धेरै काम गर्‍यौँ । एमबीए तथा ब्याचलर लेभलका विभिन्न कार्यक्रमहरू अहिले सञ्चालन भइरहेका छन्‚ त्यसमध्ये केही कार्यक्रम अत्यन्तै सफल भएर अगाडि बढिरहेका छन् । यसमा सबैभन्दा पहिलो कुरा विद्यार्थी धेरै छन् । एमबीएको एउटा कार्यक्रममा आवश्यक विद्यार्थीको संख्या ५० हो । जबकी ६०० विद्यार्थीले आवेदन दिएका छन् । त्यसबाट पनि हामीले राम्रा विद्यार्थीलाई मात्र छनौट गरेका छौं ।

अन्य कार्यक्रममा पनि ५० जना विद्यार्थी कोटा हो । ५० जना भर्ना गर्दा नै डेढ/दुई सयसम्म एप्लिकेसनहरू आउने गर्छन् । त्यसमा पनि अनुभवी र परिपक्व खालका अन्य डिग्री लिएका विद्यार्थीहरुले पनि एप्लिकेसन हाल्ने गर्छन् । उनीहरूबाटै पनि क्षमतावान् विद्यार्थीलाई छानेर समावेश गर्न पनि सकिन्छ । यसले गर्दा अनलाइन शिक्षाको भविष्य झन् राम्रो हुँदै जान्छ । नेपालमा परम्परागत प्रणालीले त्यसबाट बाहिर परेका विद्यार्थी‚ जागिरे विद्यार्थी, सरकारी जागिरे, प्राइभेट जागिरे छन् । जसको एउटा ठूलै जमात छ ।

हामीले यस विश्वविद्यालयको विज्ञापन पर्याप्त रुपमा बाहिर लैजान नसकेपनि इच्छा भएका विद्यार्थी आफैँ खोज्दै आएको अवस्था पनि छ । यो पनि हाम्रा लागि एउटा अर्को सफलता हो । शिक्षा संकायतिर पनि विद्यार्थीको उपस्थिति धेरै राम्रो छ । एमफीएल, ब्याचलर लेबलमा यहि तरिकाले राम्रा विद्यार्थीहरू भर्ना भइरहेका छन् । यसलाई हामीले एकेडेमिक सफलता मान्नुपर्छ । यो छोटो समयमा पनि केही कार्यक्रम डायनामिक तबरले अगाडि बढिरहेको छ । विद्यार्थीको उपस्थित राम्रो छ । अर्काे सफलता के देखियो भने- सेलेबस राईटिङ र सेलेबस डिजाइनमा शायद नेपालका सबै विश्वविद्यालयमध्ये खुल्ला विश्वविद्यालय लीडीङ पोजिसनमा रहेजस्तो लाग्यो ।

केशव तिमल्सिना
विभिन्न संकाय तथा सामाजिक क्षेत्रमा कार्यरत र पढ्न चाहनेहरूलाई यो विश्वविद्यालयले एकखालको अवसर आफ्नै घरघरमा नै पुर्‍याइदिएको छ । विभिन्न कोर्सगत ढङ्गले हामीलाई बढी मात्रामा प्रविधिमैत्री अनुसन्धानसँग सम्बन्धित फिल्डमा प्रविधिलाई नै प्रयोग गरेर स्रोत‚ साधन त्यो रिर्सचसम्बन्धी विषयहरूमा हामीले धेरै नयाँ कुराहरू सिक्ने अवसर पायौँ । एउटा शिक्षणमा र सिकाइमा समेत यो खालको एलएमएसको मोडुल सिस्टम छ‚ त्यसलाई बुझ्ने र त्यहाँबाट पढ्ने हामीले सिकाइका छुट्टै प्रकारका अवसर पायौँ ।

त्यसले गर्दा हामीले पहिलोपटक अभ्यास गर्ने मौका पनि पायौँ । जसले हामीलाई फाइदा पुगेको छ । पढ्ने‚ सिक्ने र सेवासुविधाका कुरामा कुनै गुनासो रहेन । लगभग हामीले जति सेवासुविधा हामीले पाउनुपर्ने हो‚ त्यो युनिभर्सिटीबाट पाएका छौँ । विभिन्न खालका रिर्सचहरू म्यानेज गर्नेलगायतका सन्दर्भमा युनिभर्सिटीको व्यवस्था पनि राम्रो छ ।

अब पछिल्लो समयमा थेसिसको चरणमा आएपछि संकाय सदस्यहरू आफ्नै संकाय सदस्य नभएकाले गर्दा हामी निरन्तर रुपमा लागिरहने चाहिँ कतिपय स्कोलारहरूलाई पनि फिनिसिङ् गर्ने सन्दर्भमा एकदमै अप्ठ्यारो भएको महसुस भएको छ । अन्य युनिभर्सिटीले जुन किसिमको भिजन ल्याएका छन्, भित्री प्रशासनिक समस्याहरू हामीलाई थाहा भएन तर‚ हामी सिक्नेहरूका लागि यसले राम्रो शिक्षा दिएको भन्ने अनुभूति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *