बाढीले मनाङमा विनाश: सडक खोल्न गयो एक्साभेटर

पोखरा । जेठको अन्तिम सातादेखि मनाङ ठप्प छ । पुल र बाटो बाढीले बगाएपछि गाडी आउजाउ गर्न सक्दैन । मान्छेहरु हिडेर तलमाथी गरिरहेका छन् । डेढ महिनादेखि ठप्प मनाङ खोल्नका लागि सरकारी निकाय तातेका छन् ।

डुम्रे-बेंशिसहर-चामे सडक आयोजनाले पहिरोले रोकिएका ठाउँमा सडक खुलाउने र नयाँ ट्रयाक खोल्नुपर्ने ठाउँमा नयाँ सडक बनाउने काम गरेको हो । असारको पहिलो साता पठाईएको एक्साभेटर र लोडर अहिले मनाङको सीमाना म्यार्दी पुगेको छ । ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर काम भैसकेको आयोजनाका प्रमुख अमित श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खर्खरे भीर र रामबजार क्षेत्र बढी जोखिममा छ । र यहाँ पटक पटक सडक बन्द हुन्छ । दुईवटा एक्साभेटर यि दुईवटा ठाउँमा चौविसै घण्टा खटाईएको छ । ‘तीनवटा एक्साभेटर र एउटा लोडर फिल्डमा छ । दिनरात काम गरिरहेको छ,’ उनले भने ।

आयोजनाले असारदेखि नै काम गरेपनि वर्षाका कारण लक्षित उपलब्धी हासिल भएको छैन । ‘दिनहुँ पानी परिरहन्छ । पहाडको सडक अहिले खोल्यो एकछिनमै बन्द हुन्छ,’ उनले भने, ‘कहिले म्यादीसम्म नै गाडी पुग्छ । कहिले तलै रोकिन्छ ।’ म्यार्दी कटेपछि काम छिटो हुने उनको विश्वास छ । मौसम राम्रो भए दुई साताभित्रै चामेसम्म गाडी पुग्ने श्रेष्ठले जानकारी दिए ।

केही ठाउँमा सडकको नामनिशाना समेत छैन । त्यसका लागि नयाँ ट्रयाक खोल्ने उनको भनाई छ । उनका अनुसार म्यार्दीबाट बगरछापसम्म नयाँ ट्रयाक खोल्न उनको सुझाव छ । ट्रयाक परिवर्तनका लागि अध्ययन सुरु गर्नुपर्ने उनको धारणा छ । दानाक्यू र धारापानी क्षेत्रमा पनि रि-रुट गर्नुपर्ने अवस्था छ ।

सडक आयोजनाले डुम्रेदेखि चामेसम्म २१ वटा मोटरेवल पुल बनाउनुपर्ने प्रस्ताव गरेको छ । अघिल्लो वर्षको रातो कितावमै योजना परेपनि कार्यान्वयनमा आएको छैन । यो सडक खण्डमा पक्की पुल खासै छैन । केही खोलामा बेलिव्रिज राखिएको छ भने कतै काठको पुल तरेर गाडी वारपार गरिन्छ । ‘काठे पुल चलनचल्तीमा छ । पक्की पुल चाहिन्छ भनेर मागेका छौं । रातोकितावमा पनि समेटिएको छ,’ श्रेष्ठले भने, ‘अब अध्ययन गरेर नयाँ पुल बनाउनुपर्छ ।’ नेपाली सेनाले पनि केही दिन अघि मनाङको बाढीग्रस्त संरचनाको रेकी गरेर फर्किएको छ ।

जिल्लास्थित सरकारी निकायले पनि स्थलगत अध्ययन गरेर प्रतिवेदन संघ र प्रदेश सरकारमा पठाएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले १ अर्ब भन्दा बढीको क्षति अहिलेको बाढीबाट भएको बताए । अहिले मनाङ सदरमुकामदेखि माथिल्लो मनाङ जोड्ने झोलुंगे पुल बगाएका कारण दुई क्षेत्रबीच सम्पर्क टुटेको छ । मोटरेवल पुल पनि उच्च जोखिममा परेको छ । जिल्ला सरकारी टोलीको प्रतिवेदन अनुसार ताल र सिरानताल क्षेत्रको बस्ती नै स्थानान्तरण गर्नुपर्ने सुझाव छ । ५३ घर पूर्ण रुपमा क्षति भएका छन् भने हजार जना भन्दा बढी विस्थापित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *