मेलम्चीको बाढीले झोलुंगे पुल बगे, दर्जनबढी घरमा क्षति (तस्बिरहरु)

काठमाडौँ । मध्यरातमा आएको बाढीले मेलम्ची बजार फेरि हिलाम्मे बनाएको छ भने केही घर बगाएको छ । शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घरमा क्षति पुगेकाे छ । ‘त्यहाँका जनतालाई पहिल्यै अन्यत्र सार्ने प्रबन्ध गरिएका कारण मानवीय क्षति भने भएको छैन,’ उनले भने, ‘दुई ठाउँमा बाढी आउने आकलन गरी साइरन जडान गरिएको छ, त्यो साइरनका कारण पनि अहिले मानिसहरूलाई सजिलो भएको छ ।’

यस्तै बाढीले रेडियो मेलम्ची भवन ढलेको छ भने तालामाराङ प्रहरी चौकीको भवनमा पनि क्षति पु्रयाएको छ । चनौटेको रातो पुल पनि बगाएको प्रजिअ पोखरेलले जानकारी दिए । मेलम्ची-७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।

यसअघि गत असार १ मा पनि मेलम्चीमा बाढी आएको थियो । प्रहरीको तथ्यांकअनुरूप असार १ को बाढीले हेलम्बु गापाका स्थानीय र मेलम्ची खानेपानी आयोजनामा काम गर्नेमध्ये पाँचले ज्यान गुमाए, २० जना अझै भेटिएका छैनन् ।

 तस्बिर : देवराज सुवेदी, आदित्य दाहाल र राससबाट
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *