‘बेरोजगार’लाई सरकारी आयोजनामा प्राथमिकताको माग

विराटनगर । बेरोजगारको सूचीमा सुचिकृत व्यक्तिलाई तीन तहका सरकारले संचालन गर्ने आयोजनामा प्राथमिकता दिइनुपर्ने कुरा उठ्न थालेको छ । सरकारका आयोजनाहरूमा कामदार नपाएको भन्ने तर बेरोजगारको सूचीमा सूचीकृत व्यक्तिले रोजगारी नै नपाउने अवस्थाको अन्त्यका लागि प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहले बेरोजगारमा सूचीकृतलाई प्रथमिकता दिन सकेका छैनन् । बेरोजगार व्यक्तिहरूको सूची तयार गरी उनीहरूको रोजगारीका लागि पहल गर्दै आएका रोजगार संयोजकहरूले विभिन्न सुझावहरू सरकारलाई दिएका छन् ।

रोजगार संयोजकहरूले प्रदेश सरकारले रोजगारी सिर्जना हुने विभिन्न कार्यक्रमहरू प्रधानमन्त्री रोजगार कार्यक्रमको साझेदारीमा कार्यान्वयन गर्नेगरी बजेट विनियोजन गर्न पनि भनेका छन् । प्रदेश १ का विभिन्न पालिकामा कार्यरत रोजगार संयोजकहरूले प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राईलाई भेटेर १० बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएका हुन् ।

बेरोजगार सूचीमा सूचीकृत बेरोजगारहरुलाई स्वरोजगार बनाउन सीपमूलक तालिम तथा स्वउद्यमी बन्ने खालका कार्यक्रमहरू संचालनका लागि आवश्यक बजेट विनियोजनलगायतका पहल कदमीहरू चाल्नुपर्ने उनीहरूको सुझाव छ । प्रदेश सरकार मातहतका मन्त्रालय, सरकारी निकाय, गैरसरकारी निकायले संचालन गर्ने सीपमूलक तालिम स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत संचालन गर्नुपर्ने, प्रदेश सरकारले संचालन गर्ने विभिन्न आयोजनाहरूमा आवश्यक श्रमिकका लागि बेरोजगार सूचीमा सूचीकृतहरूलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको सुझाव छ ।

‘कोभिड महामारी र निषेधाज्ञाका कारण धेरै मान्छेले रोजगारी गुमाएको अवस्था भएकाले तत्काल रोजगार र स्वरोजगार हुने कार्यक्रम संचालन गर्नुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘बेरोजगार व्यक्तिहरूका लागि रोजगारमूलक उद्यमशीलता विकास र क्षमता विकास तालिमका लागि बजेट विनियोजन गरिनुपर्छ ।’

शैक्षिक बेरोजगार र दक्ष श्रमिकलाई रोजगारी सिर्जना गर्ने र स्वरोजगार बनाउन उद्यमशीलता तालिम संचालन गर्न पनि ज्ञापनपत्रमा उल्लेख छ । रोजगार सेवा केन्द्रका लागि थप कर्मचारीको व्यवस्थापन, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा एक घर एक रोजगारीजस्ता जनकल्याणमूलक कार्यक्रमहरू संचालनमा ल्याउन आवश्यक नीति तथा कार्यविधिहरू बनाई प्रदेश १ लाई बेरोजगारमुक्त प्रदेशको रुपमा स्थापित गराउनेतर्फ लाग्नुपर्ने रोजगार संयोजकहरूले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको बुढिगंगा गाउँपालिकाकी रोजगार संयोजक संगिता घिमिरेले जानकारी दिइन् ।

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *