मदन पुरस्कारका लागि ९ पुस्तक मनोनयन

काठमाडौं । मदन पुरस्कार—२०७७ को लागि ९ पुस्तक श्रेष्ठ सूचीमा परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गर्दै यीनैमध्येबाट एक पुस्तकले मदन पुरस्कार पाउने जनाएकाे हो ।
गुठीका अनुसार सूची तयार पार्ने जिम्मा दिइएको समितिले सिफारिस गरेअनुसार यसपटकको श्रेष्ठ सूचीमा गिरि श्रीष मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्पग्रन्थ’, भैरवबहादुर थापा ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गो’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरकाे ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ परेका छन् ।
यीमध्ये एक कृतिलाई ४ लाख राशीको मदन पुरस्कारबाट सम्मान गरिनेछ । मदन पुरस्कार गुठीले हरेक बडादशैँको कोजाग्रत पूर्णिमाका दिन बर्षका उत्कृष्ट पुस्तकमध्येबाट एकलाई मदन पुरस्कार र नेपाली साहित्यमा उल्लेख्य योगदान गर्ने एकजनालाई जगदम्बा श्री पुरस्कारबाट सम्मान गर्ने गरेको छ ।








