फिल्म समीक्षा

घातक रात : गरिबी सिद्ध्याउन खोज्दा परिवार नै सखाप

काठमाडौँ । शुक्रबार चलचित्र रिलिज हुने दिन । तर डेढ वर्ष यता चलचित्र हल शून्य प्रायः छन् । हलमा चलचित्र नहुँदैमा दर्शकलाई चलचित्र हेर्ने भोक भने कम हुने होइन । शुक्रबारको दिन चलचित्र हरेर रमाउन चाहने दर्शकको लागि दक्षिण भारतीय चलचित्र (आ कलारला रात्रि) ‘घातक रात’ एक फरक स्वादको चलचित्र हुन सक्छ ।

माया प्रेम भन्दा केही फरक चलचित्र खोज्दै गरेका दर्शकलाईसमेत यो एक राम्रो चलचित्र बन्न सक्छ । विशुद्ध पारिवारिक विषयवस्तुमा बनेको यो चलचित्रले दर्शकलाई तानेर ४०/५० वर्ष अघिको समयमा पुर्याउछ । न त प्रेमको चर्चा न गानाबजाना, सरल तरिकाबाट कथा अगाडि बढेको छ । तर चलचित्रको क्लाइमेक्स दर्शकको सोच भन्दा पर पुगेर निर्माण गरिएको छ ।

एकदिन र सोही रात अर्थात् एक रातमा घटेको घटनालाई चलचित्रमा प्रस्तुत गरिएको छ । एउटा गरिब परिवार जहाँ आमा, बाबु र छोरी बस्छन् । आमा सोझी छिन् भने बाबुलाई कुनै कुराको चिन्ता नै छैन हर साँझ रक्सीमा बिताउँछन् उनी । छोरी मल्लिकालाई आफ्नो परिवारको गरिबीले दिक्क बनाएको छ । यसको कारक आफ्नै आमाबाबुलाई मान्ने उनले पटक पटक यही विषयलाई लिएर झगडा समेत गरिरहन्छिन् ।

एकदिन एक भविष्य बताउने मान्छे उनीहरूको घरमा आउँछन् । उनले अब यो परिवार धनी बन्ने तर यसको लागि एक अवसर आउने बताउँछन् । तर कुनै गल्ती भएमा उल्टै यही परिवारलाई घातक हुने बताउँछन् । यस्तो विषयलाई बकवास मानिरहेको परिवार तब अचम्म पर्छन् जब एक यायावर घुम्ने क्रममा एक रात बिताउन उनीहरूको घरमा पुग्छन् ।

धेरै सम्पत्ति बोकेर हिँडेका यी युवक को होलान् त ? भन्ने जवाफमा दर्शकले नसोचेको क्षण चलचित्रमा अनुभव गर्न पाउने छन् । गरिबीबाट मुक्ति पाउन मल्लिकाले गरेको एक गल्तीको कारण परिवारमा आउने सङ्कटले जो कोहीको आँखा रसाउँछ । थोरै कलाकार प्रयोग गरिएको चलचित्रका प्रत्येक कलाकारको महत्त्वपूर्ण भूमिका रहेको छ । चलचित्रको अनपेक्षित पक्ष थाहा पाउन भने यो एक घण्टा ३८ मिनेटको चलचित्र हेर्नुपर्ने हुन्छ ।

चलचित्र दयाल पद्मानाभनले निर्देशन गरेका छन् । चलचित्रमा अनुपमा गोवडा, कार्तिक जयराम, भिना सुन्दर, रंगायानारघुलगायत कलाकारको मुख्य भूमिका रहेको छ । डी पिक्चर्सले निर्माण गरेको चलचित्र २०१८को जुन १ तारिक प्रदर्शनमा आएको थियो । युट्युबमा गैर कानुनी रूपमा हिन्दी भाषामा यो चलचित्र हेर्न सकिन्छ भने ओरिजिनल कन्नाडा भाषामा हट स्टारमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *