प्रधानमन्त्रीसहित तीन मन्त्री मेडिकल क्षेत्रका भएको भुटानमा ९० प्रतिशत वयस्कले पाए खोप

काठमाडौं । भुटान, ९० प्रतिशत वयस्क (बालबालिकाबाहेक) नागरिकलाई एकै हप्तामा खोप लगाउने पहिलो दक्षिण एसियाली देश भएको छ । गतमार्च र अप्रिलमा भारतले साढे पाँच लाख डोज अस्ट्राजेनेका खोप अनुदान दिएर खोप कार्यक्रम सुरु गरेको भुटानले पछिल्लो समयमा खोप निर्यात बन्द गर्दा तनाव झेल्नुपरेको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराका अनुसार जुलाई २० बाट दोस्रो डोज खोप लाउन सुरु भएको थियो । एक हप्तामै नब्बे प्रतिशत वयस्क नागरिकलाई खोप लगाउन भुटान सफल भएको छ । यूनीसेफले भुटानमा द्रूत रुपमा भएको यो कामको प्रशंसा गरेको छ । उसले भनेको छ, ‘यो महामारीको समयमा संभवतः सबैभन्दा छिटो लगाइएको खोप हो ।’

युनिसेफका भुटान प्रतिनिधि विल पार्क्सले यो भुटानका लागि एक महान उपलब्धी भएको बताएका छन् । पार्क्सले विश्वका धनी र ठूला देशहरूले भुटानबाट सिक्न सक्ने तर्कसमेत गरेका छन् । अलजजीराका अनुसार भुटानमा कोभिड-१९का २५०० केसहरू पुष्टि भएका छन् भने दुईजनाको कोडिभबाट ज्यान गएको छ । यहाँ १२ सय खोप केन्द्रहरू संचालन भएका थिए भने ३१ सय स्वाथ्यकर्मी सक्रिय भएका थिए ।

प्रधानमन्त्री लोते छिरिङ र परराष्ट्रमन्त्री टेन्डी दोर्जी मेडिकल डाक्टर हुन् भने स्वास्थ्यमन्त्री डेचेन वाङ्मो जनस्वाथ्यमा स्नातकोत्तर हुन् । शीर्ष नेतृत्वमा डाक्टर भएकाले काम धेरै सहज भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ८ लाखको हाराहारी जनसंख्या भएको भुटान विश्वको एक्लो बौद्ध राजतन्त्र भएको देश हो । दक्षिण एसियाको पनि भुटान एक्लो राजतन्त्रात्मक देश हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *