आदित्यले टेलिभिजन कार्यक्रम छाडेर सङ्गीतलाई निरन्तरता दिने

काठमाडौँ । गायक आदित्य नारायण झाले एक अन्तर्वार्तामा आफ्नो टेलिभिजनको सुरुवाती चरणको बारेमा कुरा गरेका छन् । उनले १८ वर्षको उमेरमा गायन रियालिटी शो ‘सा रे ग म प’ सञ्चालन गरेर टेलिभिजनमा आफ्नो करियर सुरु गरेका थिए । उनले उक्त समय एक एपिसोडका लागि ७५०० रुपैयाँ पारिश्रमिक पाउँथे । उनी हाल रियालिटी शो ‘इन्डियन आइडल १२’ को होस्ट गरिरहेका छन् । उनले आफू टेलिभिजनमा सफल व्यक्ति बन्नुभन्दा सङ्घर्षरत सङ्गीतकारको रूपमा चिनिन चाहेको बताएका छन् ।

आदित्य नारायणले भने, ‘जब म १८ वर्षको उमेरमा ‘सा रे ग म प’मा होस्टको रूपमा टेलिभिजन जगतमा प्रवेश गरेँ, म प्रतिएपिसोड ७५०० रुपैयाँ पाउँथेँ । उक्त समय त्यो मेरा लागि ठुलो रकम थियो । तर अहिले जब उनीहरू म कहाँ आउँछन् र करोडौँको प्रस्ताव गर्छन्‚ म उनीहरूलाई ‘नाइँ’ भन्नुपर्दा दुखी हुन्छु ।

मैले टिभीमा धेरै वर्ष काम गरेँ‚ जसका कारण म मेरो आफ्नै सङ्गीतमा काम गर्न सकौँ, म्युजिक भिडिओ आफैँ बनाऊँ र ती गीतहरू गाउन पाऊँ । म मेरो जीवनको एउटा बिन्दुमा पुगेको छु‚ जहाँ म एक सफल टेलिभिजन प्रस्तोताको सट्टा एक सङ्घर्षरत सङ्गीतकारको रूपमा चिनिन रुचाउँछु । मलाई एक स्ट्रग्लर, फेलियर, प्रगतिशील र एक अतिसामान्य व्यक्ति भनेर चिन्ने गरिन्छ । म चाहन्छु कि मानिसहरूले यसमा गायक वा सङ्गीतकारजस्ता शब्दहरू थप्न सकून् ।’

आदित्य थप भन्छन्, ‘टेलिभिजन इन्डस्ट्रीले मलाई ख्याति, घर, फार्म हाउस र कारलगायत विलासी जीवनसँग सम्बन्धित सबै कुरा दिएको छ । तर मेरो पहिलो प्रेम सङ्गीत नै हो । समस्या यो भयो कि अब म एक चर्चित टेलिभिजन होस्ट भएको छु तर‚ मानिसहरूले म एक गायक हुँ भनेर बिर्सिन थालेका छन् । म वर्षमा मुस्किलले दुई तीनवटा गीत गाउँछु । जबकि तपाईँले मलाई सधैँ टिभी कार्यक्रममा देख्नुहुन्छ । टिभी ईन्डस्ट्रीमा मेरो कामले मेरो सङ्गीतलाई ओझेलमा पारेको छ । मानिसहरूले मलाई टिभी होस्टको रूपमा चिन्छन्‚ त्यो कुरा सोच्दा म आजसम्म पनि खुसी हुन्छु । यो नराम्रो कुरा होइन‚ किनभने मैले विगत १८ वर्षदेखि कार्यक्रम होस्ट गर्दै आएको छु । म अहिले ३३ वर्षको भएँ र भगवानको कृपाले मसँग पर्याप्त स्रोतहरू छन् । जसका कारण सङ्गीत सिर्जनाका लागि मैले सम्झौताको आधारमा काम गर्नुपर्दैन । जसले मलाई ८ वर्ष वा बढी समयको दास हुन बाध्य बनाउँछ।’

आदित्यले २०२२ पछि टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्ने छैनन् किनभने यो ‘ठुलो काम गर्ने समय’ हो । उनले अगाडि भने, ‘टिभीमा होस्टको रूपमा २०२२ मेरो अन्तिम वर्ष हुनेछ । म त्यसपछि होस्टिङ गर्ने छैन । अब ठुलो काम गर्ने समय आएको छ । मैले अघिल्ला प्रतिबद्धताहरू पनि राखेको छु‚ जुन आउँदै गरेको महिनाहरूमा पूर्ण गर्नेछु । म अर्को वर्ष टिभीबाट ब्रेक लिन्छु । धेरै चीज एकैचोटी गर्न राम्रो त लाग्छ तर यसरी काम गर्दा धेरै थाकिन्छ । म १५ वर्षदेखि एक टेलिभिजनको हिस्सा हुँदै आएको छु । र यो काममा म खुसी पनि छु तर‚ अब अझ अगाडि बढ्ने समय आएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *