त्रिविमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो ।

विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन शुरु गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा . योगेश रञ्जितले जानकारी दिए । दुई वर्षे यो विषय पढ्नका लागि रु एक लाख ७३ हजार लाग्ने जनाइएको छ ।

विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै शंकाय डिन डा. कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल सरकारका विभिन्न निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनिकरण गर्ने योजना रहेको बताएका सामाजिक अभियन्ता भरत जङ्गमले पाँच दशक पछि आफ्नो सपना साकार भएकामा खुशी व्यक्त गरे ।

भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उनको जिकिर थियो ।

अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा. शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगरीको अवसर मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *