‘मेरो देश, मेरै उत्पादन’ : व्यवसायीले आफ्नै प्रतिवद्धता कार्यान्वयन गर्लान् ?

विराटनगर । स्वदेशी वस्तुहरुको उपभोग अभिबृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने भन्दै प्रदेश १ का दुई व्यवसायी संस्थाले ‘मेरो देश मेरो उत्पादन’को दोश्रो चरणको अभियान शुरु गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको ‘मेरो देश, मेरै उत्पादन’को अभियानलाई जनस्तरसम्म पुर्‍याउन दुवै संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई बुझाएका हुन् ।

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामवहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई प्रतिवद्धता पत्र बुझाएका हुन् । ‘मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पुरा गर्दछु, म आफना छिमेकी, साथी-भाई, ईष्ट-मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधै लागिपर्नेछु’ प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

आन्तरिक उत्पादनको खपत र स्वदेशी बस्तुको प्रवद्र्धन गर्नको लागि यो अभियानको थालनी भएको मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताए । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई निमोनिक लोगो फ्रेम र चार वुदे प्रतिवद्धता बुझाउँदै संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले गत चैत १३ गतेदेखि शुरु भएको अभियान दोश्रो चरणमा प्रबेश गरेको बताए ।

स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले राष्ट्रव्यापी रुपमा २०७७ चैत्र १३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘मेरो देश, मेरै उत्पादन’ प्रारम्भ गरेका थिए । दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै यस अभियानलाई सार्थक बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र बढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्न सबैको साथ र सहयोग रहने प्याकुरेलले विश्वास व्यक्त गरे ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरुको संरक्षण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोही अनुरुपको व्यवस्था गर्न आग्रह गरे । उनले व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको यस अभियानलाई प्रदेश सरकारले आफनै अभियानको रुपमा लिनु पर्ने धारणा राखे ।

दुवै संस्थाको तर्फबाट संयूक्त रुपमा प्रदान गरिएको निमोनिक लोगो र चार वुदे प्रतिवद्धता बुझ्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले यो अभियानको कार्यान्वयमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त जनाए । आर्थिक क्षेत्रको विकास विना कुनैपनि गतिबिधि अघि नबढ्ने उल्लेख गर्दै मुख्यमन्त्री राईले स्वदेशी बस्तुको प्रयोग नागरिक स्तरसम्म पुर्‍याउन लाग्नु पर्नेमा जोड दिए ।

सोअवसरमा मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष पवन शारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठी, संघका उपाध्यक्ष अनुपम राठी, संगठनका कोषाध्यक्ष विपिन कावराको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *