डाक्टरहरूले थालेको राम्रो काम

काठमाडौं । काठमाडौंमा अस्पताल र क्लिनिकहरू बग्रेल्ती छन् । तर उपचार गराउने बेलामा भने सधैं सास्ती हुने गरेको छ । सरकारी अस्पतालमा पालो पाउन महिनौं कुर्नुपर्छ भने निजी अस्पतालमा शुल्कको सास्ती चर्को छ । अर्कातिर विशेषज्ञ डाक्टरको सेवा पाउनका लागि धेरै दिन पालो कुर्नुपर्ने झन्झट त छँदैछ ।

यस्ता समस्याबाट राहत दिनका लागि ‘एक एक पाइला सामुदायिक क्लिनिक’ शुरु गरिएको छ । विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुले खोलेको सामाजिक संस्था एक एक पाइलाले काठमाडौंको थापाथालीमा थोरै शुल्क लिएर विशेषज्ञ सेवा दिन थालेको हो । यो शुल्क पनि विपन्न नागरिकको उपचारमै खर्च गरिने एक एक पाइलाले जनाएको छ ।

बिरामी जाँच र परामर्शसहितको सामुदायिक क्लिनिकमा अन्य क्लिनिक तथा अस्पतालमा जान नचाहने वा आर्थिक रुपले नसक्ने बिरामीहरुलाई विशेषज्ञ डाक्टरको परामर्श उपलब्ध गराउन थालिएको कलेजो रोग विशेषज्ञ तथा एक एक पाइलाका संस्थापकमध्येका एक  प्रा. डा. सुधांशु केसीले मकालुखबरलाई जानकारी दिए ।

एक एक पाइलाले देशका विभिन्न ठाउँमा यसअघि १९ वटा विशेषज्ञले स्वास्थ्य शिविर सञ्चालन गरेको र त्यहा जाँच गरिएका बिरामीहरूको फलोअप तथा अन्य बिरामीलाई एकदमै सस्तो र सुलभ दरमा स्वास्थ्य परामर्श दिनुका साथै विपन्न समुदायका बिरामीलाई आर्थिक सहयोग पनि गर्ने गरेको डा. केसीले बताए ।

May be an image of one or more people, people standing and indoor

क्लिनिकमा आवद्धमध्ये तीनजना डाक्टर पूर्णकालीन छन् । उनीहरूबाहेक अरु कुनैपनि विशेषज्ञ डाक्टरले बिरामी जाँच गरेको रकम नलिने र त्यहाँ संकलन भएको सबै रकम विपन्न वर्गका लागि खर्च गरिने पनि उनले जानकारी दिए ।

‘हामी विभिन्न अस्पतालमा रहेका डाक्टरहरू कसैले पनि बिरामी जाँचेको शुल्क लिँदैनौं’, डा. केसीले भने, ‘त्यो सबै रकम हामी स्वास्थ्य शिविर र विपन्न नागरिक उपचार कोषमा जम्मा गर्छौं ।’ कोषमा शुरुमा १० लाख रुपैयाँ अक्षय कोषका रुपमा राखिएको र त्यसमा थप गर्ने योजना रहेको एक एक पाइलाले जनाएको छ ।

अहिले ‘प्राइमरी हेल्थ केयर’को रुपमा रहेको केन्द्रमा सजिलै विशेषज्ञ डाक्टरको सेवा उपलब्ध हुँदै आएको छ । अहिले बिरामी जाँच र निदान गरी थप उपचार आवश्यक पर्ने भए त्यसैअनुसारको परामर्श दिने गरिएको डा. केसीले जानकारी दिए ।

थप उपचार गराउन नसक्ने विपन्न बिरामीका लागि कोषबाट केही रकम सहयोग पनि गर्न शुरु भइसकेको छ । कोभिड संक्रमणबाट निधन भएकी डा. पूज्यश्री कार्कीका सहपाठी डाक्टरहरुले एक एक पाइलाको कोषमार्फत् मोतियाबिन्दुको शल्यक्रियामा सहयोग गर्न शुरु गरेका छन् । उनीहरुको सहयोगमा एकजना विपन्न समुदायका विरामीको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । उक्त सामुदायिक क्लिनिक बिहान ७ देखि बेलुकी ७ बजेसम्म खुल्ला हुने रहने गरेको छ ।

निःशुल्क घर
उनीहरूले थापाथलीमा रहेको एक एक पाइलाको सामुदायिक स्वास्थ्य क्लिनिक रहेको घर निःशुल्क पाएका छन् । संस्थाका संस्थापक अध्यक्ष डा. सुमन थापाकी आमा प्रतिमा  थापाले आफ्ना छोरा र साथीहरू मिलेर गर्न थालेको पूण्यको कामका लागि १० वर्षका लागि आफ्नो घर निःशुल्क उपलब्ध गराएको डा केसीले जानकारी दिए ।

(मुख्य तस्बिर : आँखा परीक्षण गराउँदै अभिनेत्री मनिषा कोइराला ।)

प्रतिक्रिया

One thought on “डाक्टरहरूले थालेको राम्रो काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *