चलचित्र ‘मिमी’ समीक्षा

चलचित्र : मिमी
कलाकार : कृति सेनन, पङ्कज त्रिपाठी, मनोज पहवा, सुप्रिया पाठक, सई तम्हानकर
निर्देशक : लक्ष्मण उतेकर
विधा : कमेडी, ड्रामा
समय : २घण्टा १३ मिनेट
क्रिटिक रेटिंग : २.५/५

लामो समययता कृति सेनन अभिनित चलचित्र ‘मिमी’ चर्चामा छ । चलचित्र जुलाई ३० मा रिलिज गर्ने तयारी थियो । तर जुलाई २६ को बिहान नै चलचित्र अनलाइनमार्फत् लिक भयो । यसैकारण निर्माताले हतारमा सोही दिन साँझ अनलाइनमार्फत् चलचित्र रिलिज गरे । चलचित्र सरोगेसी (कोख भाडामा लिएर सन्तान जन्माउने)को विषयलाई लिएर बनाइएको छ । कुनै समय भारत पश्चिमा देशहरूका लागि सरोगेसीका लागि सुरक्षित ठाउँ थियो र भारतमा ‘सरोगेसी’ व्यवसायको रूपमा थियो । यही विषयलाई ‘मिमी’को माध्यमबाट भावनात्मक रूपमा देखाउने प्रयास गरिएको छ ।

कथा : तपाईँले मिमीको ट्रेलर हेर्नुभएको छ भने चलचित्रको कथाबारे लख काट्न सक्नुहुनेछ । अमेरिकाबाट भारत आएका जोडी जोन र समरको कथाबाट चलचित्र शुरु हुन्छ । जसको सवारी चालक भानु (पङ्कज त्रिपाठी) हुन्छन् । जब भानुलाई जोन र समर आफ्ना बच्चाको लागि सरोगेसी आमा खोज्दै हुन्छन् भन्ने थाहा हुन्छ, उनले राजस्थानकी एक पेशेवर नर्तकी, मिमी (कृति सेनन)लाई भेट गराउँछन् । जोन र समर आफ्नो बच्चालाई मिमीको गर्भमा छोडेर बिचैमा अमेरिका फर्किन्छन् । यसपछि, कसरी मिमीले आफ्नो बच्चालाई जन्म दिन्छिन् र सङ्घर्ष गर्छिन्, भन्ने कथामा नै यो चलचित्र बनेको छ ।

समीक्षा : चलचित्रको प्लट धेरै राम्रो छ । यसको सुरुवातमा पङ्कज त्रिपाठीका केही हँस्यौली दृश्यहरू देखिन्छन् । कथाले सुरुबाटै लय समातेको छ । मिमीको भूमिकामा कृति सेनन अब्बल लाग्छिन् । कृतिका केही दृश्यहरू जीवन्त छन् । यद्यपी चलचित्रमा कृतिले यसभन्दा राम्रो काम गर्न सक्थिन् । तर पटकथा यति ढिलो अघि बढेको छ कि केहीबेरपछि नै दर्शकलाई दिक्दारी लाग्न थाल्छ । चलचित्र केही लामो र बोझिलो पनि लाग्न सक्छ । पटकथा कमजोर भयो भने कलाकारले केही गर्न सक्दैनन् भन्ने सन्देश यो चलचित्र हेरेपछि पनि थाहा हुन्छ ।

मिमीको भूमिकामा कृतिको इन्ट्री गज्जब लाग्छ । उनको नृत्य रहेको ‘परम सुन्दरी’ गीत चलचित्र प्रदर्शन अगावै हिट भइसकेको थियो । अभिनयमा अब्बल भए पनि चलचित्रको पटकथा र निर्देशनमा भने लेखक तथा निर्देशक चुकेका छन् ।

अभिनय : यो चलचित्र कृति सेनन र पङ्कज त्रिपाठीको वरिपरि घुमेको छ । कृतिले अभिनयमा आफू सक्षम रहेको यसअघि नै पटकपटक प्रमाणित गरिसकेकी छन् । मिमीमा पनि उनको अभिनय तारीफयोग्य छ । उनले अझ अब्बल भूमिका निर्वाह गर्न सक्ने भएपनि र चलचित्रमा मुख्य भूमिका हुँदा हुँदै पनि उनलाई पर्याप्त स्पेस दिइएको छैन । निर्देशकले पङ्कजलाई धेरै र कृतिलाई कम भूमिका दिएको देखिन्छ । कृतिको अभिनयमा भने दोष लगाउने ठाउँ छैन । पङ्कजको डाइलग टाइमिङ सधैँ झैँ सुहाउँदिलो छ । कृतिसँग उनको यो तेस्रो चलचित्र हो । यसअघि दुवै जना ‘बरेली कि बर्फी’ र ‘लुका छुपी’ मा एकसाथ देखा परिसकेका छन् । त्यसैले उनीहरूको केमेस्ट्री राम्रो देखिएको छ । तर पङ्कज अभिनयमा बिस्तारै नीरस देखिन थालेको यो चलचित्र हेरेर थाहा पाउन सकिन्छ ।

कृति र पङ्कजबाहेक मनोज पहावा, सुप्रिया पाठक र साई ताम्हणकर चलचित्रमा सहयोगी भूमिकामा छन् । सबैले आफ्नो चरित्रलाई जीवन्त बनाएका छन् ।

किन हेर्ने मिमी : चलचित्र ‘सरोगेसी’को विषयमा गहिराइसम्म पुगेर निर्माण गरिएको छ । यदि तपाईं कृति र पङ्कजको प्रशंसक हो भने चलचित्र हेरेर निराश हुनुपर्दैन ।

(नवभारत टाइम्समा नीरज वर्माको समीक्षाको नेपाली अनुवाद)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *