कक्षा १२ को परीक्षा ‘होम सेन्टर’बाटै

काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, ‘अर्को ठाउँमा जानुपर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।’ कक्षा १० को आन्तरिक मुल्यांकनबाट रिजल्ट निकाल्ने तयारी भएको तर कक्षा १२ को भने आन्तरिक मुल्याङ्कनबाट नभई भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएको र सोहीअनुसार गर्न लागिएको सदस्य सचीव अर्यालले जानकारी दिए ।

उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन् भने ५० भन्दा कम विद्यार्थी भएका २३००, १०० भन्दा कम विद्यार्थी भएका ३४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन् । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म संचालन हुँदैछ ।

बैठकमा सांसद खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिँदा सोही विद्यालयको निरीक्षक नहुने व्यवस्था गर्न सुझाव दिए । ‘नत्र चोरेर पास गराउने पनि हुन सक्छ‚’ अधिकारीले भने । सांसद मानबहादुर विश्वकर्माले विद्यार्थीले उच्च शिक्षा पढ्न नसक्ने गरी कुनै कार्य कतैबाट हुन नहुने बताए ।

सांसद मनकुमारी जिसीले परीक्षा संचालन गर्दा स्वास्थ सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताइन् । सांसद गिरिराजमणि पोखरेलले भने शिक्षक र विद्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थित सुरक्षित हुन नसक्ने बताए । साथै उनले नेपालले कोरोना महामारीको बीचमा पनि शैक्षिक सत्र बचाउन सफल भएको बताए ।

अब आन्तरिक मुल्यांकनमा स्कुलले जथाभावी नगरून् भनेर स्थानीय सरकारलाई अवलोकनको जिम्मेवारी वा अधिकार दिइनुपर्ने उनले बताए । सांसदहरूका प्रश्नको जवाफ दिँदै शिक्षा मन्त्रालयका सचिव रामकृष्ण थपलियाले सीसीइमसीको निर्णयअनुसार परीक्षा संचालन गर्न लागिएको बताए । सीसीएमसीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन भनेकाले सोहीअनुसार व्यवस्थापन गर्न परीक्षा केन्द्रहरुलाई भनिएको र अझ भनिने उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *