पोखरादेखि ढाका हवाई उडानका लागि छलफल

पोखरा । नेपालको पर्यटकीय राजधानी पोखरादेखि बंगलादेशको राजधानी ढाकासम्म सिधा हवाई उडानका लागि छलफल भएको छ । दुई देशका व्यवसायीका प्रतिनिधि मण्डलको छलफलमा हवाई उडानका विषयमा सल्लाह भएको हो ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा बंगलादेशका प्रतिनिधि बोलाएर हवाई उडानबारे छलफल गरेको हो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएलगत्तै बंगलादेशको राजधानी ढाका र पर्यटकीय शहर पोखरा जोड्न सिधा हवाई उडान प्रभावकारी हुने विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरू आकर्षित हुने गरेका छन् ।

हाल ढाका-काठमाडौं दैनिक एउटा मात्रै उडान हुँदै आएको छ । ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवर्द्धन हुन सक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

विमान संचालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गर्ने नाट्टाका अध्यक्ष सन्जयकान्त सिग्देल बताउँछन् । ‘बंगलादेश पनि हाम्रा लागि महत्वपूर्ण बजार हुन सक्छ । त्यहाँबाट पर्यटक भित्र्याउन पोखरामै जहाज ल्यान्ड हुनु आवश्यक छ,’ उनले भने, ‘सरकारले यसमा समन्वय मिलाइदिनुपर्छ । बंगलादेश जान नेपालीलाई पनि सहयोग पुग्छ ।’

वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरू नेपाल आउने गरेकोमा २० हजारजति पर्यटकले पोखरा घुम्ने गरेका छन् । कोभिडपछिको लकडाउन केही खुकुलो भएसँगै यहाँका पर्यटकीय गन्तव्यमा सामान्य ‘वार्म अप’ सुरु भएको छ । पर्यटक नै नआएपनि व्यवसायीहरु तयार भएर बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *