इजरेलले एक हजार नेपाली कामदार लैजाने‚ जान चाहनेसँग आवेदन माग

काठमाडौं । इजरेलमा १ हजार जना नेपाली कामदार माग गरिएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै केयरगिभरमा १ हजार जना नेपालीका लागि आवेदन माग गरेको हो । विभागले जान इच्छुकले २१ दिनभित्र विभागको वेभसाइटमा अनलाइन आवेदन दिन सक्ने सूचना निकालेको छ ।

पहिलो चरणमा जान पाउने एक हजारजना कामदारमध्ये ७०० जना महिला र ३०० जना पुरुषका लागि आवेदन माग गरिएको छ ।

उनीहरूको मासिक तलब लगभग एक हजार छ सय अमेरिकी डलर अर्थात् एक लाख ८८ हजारभन्दा बढी नेपाली रुपैयाँ हुने विभागले जनाएको छ ।

हप्तामा ६ दिन काम गर्नुपर्नेछ भने ओभरटाइमलगायत सेवासुविधा इजरेलको नियमानुसार हुने सूचनामा उल्लेख छ । कामदारलाई बस्ने सुविधा रोजगारदाताले दिनेछ भने खाने व्यवस्था रोजगारदाता स्वयंले गर्नुपर्नेछ ।

कसले दिन सक्छ आवेदन ?

– नेपाली नागरिक ।
– २५ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।
– उचाई कम्तिमा एक दशमलव पाँच मिटर अर्थात चार दशमलव नौ फिट भएको ।
– तौल ४५ केजी ।
– कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको ।
– अंग्रेजी भाषामा दक्ष ।
– शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको ।

योग्यता पुगेका नेपाली नागरिकले यसका लागि विभागको वेबसाइटमा गएर आवेदन दिन सकिने विभागले जनाएको छ । विभागले यसका लागि जम्मा लागत एक लाख ६५ हजार रुपैयाँ लाग्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *