कास्कीको कफी नेपालमै उत्कृष्ट

पोखरा । कास्कीको कफी नेपालमै उत्कृष्ट ठहरिएको छ । राष्ट्रियस्तरको कफी कपिंग प्रतियोगितामा कास्कीको अन्नपूर्णस्थित माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी संस्था पहिलो भएको हो ।

चिया तथा कफी विकास बोर्ड, पोखराले आयोजना गरेको प्रतियोगितामा माछापुच्छ्रेले ८५.७५ अंक पायो । नेपाली कफीको गुणस्तर पहिचान, प्रवद्र्धन तथा कफी क्षेत्रमा क्रियाशील समूह, सहकारी, प्रशोधक, उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको थियो । विभिन्न जिल्लाका १७ वटा कफी नमुनाका लागि संकलन गरिएकोमा स्वाद र गुणस्तर परीक्षण गर्दा कास्की पहिलो बनेको हो ।

यहाँको कफीमा अरोमा, स्विटनेस, आफ्टरटेस्ट, बोडी, एसिडिटी लगायत गुणको सन्तुलित स्वाद पाइएको छ । सिन्धुपाल्चोकका विभिन्न स्थानमा उत्पादन तथा संकलन गरी अन्तर्राष्ट्रिय बजारमा पठाउँदै आएको जोएल हिमालयन अरविका बिन प्रालिले ८५.५० अंक पाएर दोश्रो भयो । जिल्ला कफी सहकारी संघ काभ्रे तेश्रो भएको छ । पहिलो, दोश्रो र तेश्रो हुनेले २० हजार, १० हजार र ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पुरस्कार पाएका बोर्डका प्रमुख चन्द्र पुरीले जानकारी दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशकी सचिव सबमन सिवाकोटीले नेपाली कृषकले उत्पादन गरको कफीले स्पेसियालिटि ग्रेड प्राप्त गर्नु खुशीको विषय भएको बताईन् । उनले विश्व बजारले रुचाउने कफी उत्पादन गर्न सके नेपालको प्रमुख निर्यातको बस्तु बन्ने बताएकी छिन् । ‘विश्व बजारमा कफीको माग धेरै छ । हामीले उत्पादन गर्न सके बजार अभाव हुँदैन,’ उनले भनिन्, ‘सरकारले आवश्यक सहयोग गर्न तयार छ ।’

कार्यक्रमको अध्क्षय तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईले पछिल्ला वर्षहरुमा नेपालको कफी झन् उत्कृष्ट बन्दै गएको बताए । कफी नेपालको रैथाने बालि नभई आयातित बालि हो । अफ्रिकन जंगलको रैथाने मानिने कफी विश्वका ७० भन्दा धेरै देशहरुमा खेति गरिदै आएको छ ।

अफ्रिकाको इथियोपियामा पत्ता लागेको कफी अहिले ब्राजिलमा सबै भन्दा धेरै खेति गरिन्छ । आर्थिक वर्ष २०७६÷०७७ को तथ्यांक अनुसार नेपालमा २ हजार ३ सय ६० हेक्टर क्षेत्रफलबाट २ सय ९७ मेट्रिक टन कफी उत्पादन हुन्छ । नेपालमा हाल ४२ जिल्लामा कफी खेति हुदै आएको छ भने २३ वटा जिल्लाहरुमा व्यावसायिक खेति हुन्छ । भन्सार विभागको २०७६÷०७७ को तथ्याङ्क अनुसार ११ करोड ८८ लाख बराबरको कफी आयात हुँदा ५ करोड ७७ लाख रूपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

गण्डकी प्रदेशको ११ जिल्लाहरु मध्य ९ जिल्लामा कफीको सम्भावना रहेको छ । कफीको खपत बागमती प्रदेश पछि गण्डकीमा नै सर्वाधिक हुदै आएको छ । पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँ कफी खपत धेरै हुने अध्ययनले देखाएको छ । गण्डकी प्रदेशमा कुल ९ सय ५१ हेक्टरमा गरिने खेतीबाट १ सय ७० मेट्रिक टन उत्पादन भएको छ । झन्दै १५ हजार साना किसान यसमा लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *