यसअघि कसरी छुट्थे आईपीएल बेटिङदेखि बिटक्वाइनसम्मको धन्दा गर्ने राज कुन्द्रा ?

एजेन्सी । साधारण कानुनी मामलाले एक आम मानिसको जीवन बर्बाद हुन्छ । उसले आर्थिक र मानसिक रूपमा ठुलो क्षति भोग्नुपर्छ । तर शिल्पा शेट्टीका पति राज कुन्द्राको कथा भने फरक छ । राजलाई अन्डर वर्ल्ड कनेक्सनदेखि क्रिकेट बेटिंगलगायतका धेरै आरोपहरू लागेको थियो । उनी धेरै मुद्दामा फसेपनि हालसम्म कहिले अदालतबाटै त कहिले पुलिस आफैँले क्लीन चिट दिँदै आएको थियो ।

राजको नाम धेरै आपराधिक कामहरूमा जोडिए । तर हरेक पटक उनी यस्ता आरोपबाट बँच्दै आएका थिए । उनकी श्रीमती शिल्पा शेट्टीको शब्दमा भन्दा राजको भाग्य ‘सुपर से भी उपर’ रहेको छ । चार हजार करोडको अनुमानित सम्पत्ति हुँदाहुँदै राजले अश्लील चलचित्रको व्यापार सुरु गरे । यो कामको सुरुवातमा सम्भवतः यही ‘बलियो भाग्य’लाई उनले आधार मानेका थिए ।

आज हामी राज विवादमा मिसिएका विषयको चर्चा गर्दैछौं :

ग्यांगस्टारसँगको अवैध सम्पत्ति कारोबार
ग्यांगस्टार इकबाल मिर्चीको अवैध सम्पत्तिको मामलामा प्रवर्तन निर्देशनालय (इडी) ले अनुसन्धान गरिरहेको थियो । यही क्रममा मिर्चीको तर्फबाट सम्पत्ति किन्ने व्यक्ति रञ्जित सिंह बिन्द्रा रहेको जानकारी प्राप्त भयो । त्यस्तै बिन्द्रासँग राजको पनि कारोबार रहेको जानकारी मिल्यो । राजले आफ्नो सम्पत्ति बिन्द्राका आफन्त माधवनलाई बेचेका थिए । त्यस्तै, बिन्द्रा र राज एक रेस्टुरेन्टका पार्टनरसमेत थिए । यसै विषयमा २०१९ को अक्टोबर-नोभेम्बरमा इडीले राजलाई १० घण्टा नियन्त्रणमा लिएर यसबारे सोधपुछ गरेको थियो ।

राज कुन्द्राले एक विज्ञप्ति जारी गरी उक्त सम्पत्ति आरकेडब्ल्यूका डेभलपर्स धिरज वाधवानलाई बेचेको र उक्त कारोबार सीएले प्रमाणित गरेको बताएका थिए । उनले बेस्टिन रेस्टुरेन्टमा बिन्द्रासँग ५० प्रतिशतको साझेदारीमा काम गरेको स्वीकारेका थिए । तर, आफूलाई बिन्द्रा अरू कुन कारोबारमा संलग्न छन्, थाहा नभएको बताएर आफ्नो बचाउ गरेका थिए ।

बिन्द्राको कम्पनीले राज र शिल्पाको कम्पनी एसेन्सियल हस्पिटालिटीलाई दिएको ऋणको सन्दर्भमा समेत राजले आफ्नो बचाउ गरेका थिए ।

उनले यो कम्पनी आफूले शून्य ऋणमा बेचेको र त्यसपछिको मालिकले ऋण लिएको/नलिएको बारे आफूलाई थाहा नभएको बताएका थिए ।

बान्द्रामा रहेको ‘बेस्टिन’ रेस्टुरेन्ट बलिउडका प्रसिद्ध व्यक्तिहरूमाझ लोकप्रिय छ । गतवर्ष शिल्पाले यो रेस्टुरेन्टको दोस्रो शाखा मुम्बईको वर्लीमा सुरु गरेकी छन् ।

२००० करोडको बिटक्वाइन केस
सन् २०१८ मा २००० करोड बिटक्वाइनको विषय चर्चामा आयो । अमित भारद्वाज र विवेक भारद्वाज दुई भाइले भारतका ८००० मानिसबाट पैसा उठाएर उनीहरूलाई बिटक्वाइन दिने वचन दिएका थिए । यी दुईविरुद्ध पुनेको दत्तवाडी र निगडी पुलिस स्टेसनमा मुद्दा दर्ता गरियो । अमित भारद्वाजसँग सोधपुछ गर्दा राज कुन्द्राको नाम बिचमा आयो । राजलाई यस मुद्दामा समेत ईडीले सोधपुछ गर्‍यो । राजबाहेक अमित भारद्वाजले नायिका सनी लियोनी, प्राची देसाई, आरती छाबरिया, जरीन खान, नेहा धूपिया र हुमा कुरेशीको समेत नाम लिएका थिए ।

पुने पुलिसले यस मुद्दामा राजविरुद्ध कुनै ठोस प्रमाण पाएन । र, उनले क्लीन चिट पाए ।

आइपीएल बेटिंग
राज र शिल्पाले आइपिएलमा राजस्थान रोयल्स टिममा लगानी गरेका थिए । २०१३ मा राजले उक्त समूहका सहचालक उमेश गोयनमार्फत बेटिंगमा भाग लिएको आरोप लगाइएको थियो । राजले दिल्ली पुलिसको सोधपुछको समयमा बेटिंग आफूले गरेको स्वीकारेका थिए । यद्यपि उनले फिक्सिंगमा आफू संलग्न नभएको बताएका थिए ।

यस मुद्दामा राजस्थान रोयल्स टिमलाई दुई वर्षका लागि आइपीएलबाट प्रतिबन्ध गरिएको थियो । त्यस्तै राजलाई क्रिकेटसम्बन्धी कुनै पनि गतिविधिमा भाग लिन प्रतिबन्ध लगाइएको थियो । २०१८ मा राजले यस मुद्दाको विषयमा दिल्ली पुलिसमा एक आरटीआई दायर गरेका थिए । आरटीआईले राजविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै उनलाई सफाइ दियो । त्यसपछि राजले सर्वोच्च अदालतमा उनीमाथि लागेको क्रिकेट प्रतिबन्ध हटाउनका लागि निवेदन दिए ।

ठगी प्रकरण
२०१७ मा राज कुन्द्राविरुद्ध ठाणेको कोनगावा पुलिस स्टेसनमा २४ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो । राज र शिल्पा बेस्ट डील टिभी नामको टेलिशपिंग कम्पनी चलाउँदै थिए । यस कम्पनीका लागि तन्नाहरू खरिद गरिएको थियो । भिवन्डीस्थित कपडा कम्पनीका रवि भलोटियाले तन्नाको बदलामा कम्पनीले २४ लाख रूपैयाँ नतिरेको आरोप लगाएका थिए ।

कोनगाउँ पुलिस स्टेसनका इन्स्पेक्टर राजेन्द्र पवारले राज कुन्द्राले यस विषयमा उच्च अदालतबाट स्टे अर्डर लिएको बताएका छन् । उनले अनुसन्धानमा रवि मोहन भलोटियाको बयान रेकर्ड गरेको र राजलाई पनि बोलाइएकोमा उनी उपस्थित भएका थिएनन् । राजले उच्च अदालतबाट स्टे अर्डर लिएका छन् र भविष्यमा अदालतबाट प्राप्त आदेशअनुसार कारबाही गरिने बताइएको छ ।

स्वर्ण कार्ड योजना
राज कुन्द्रा र शिल्पा शेट्टीले सतयुग गोल्ड प्राइभेट लिमिटेड नामको सुनको ट्रेडिङ कम्पनी खोलेका थिए । उनीहरूले मार्च २०१४ मा यस कम्पनीअन्तर्गत स्वर्ण कार्ड योजना लगानी गरेका थिए । सचिन जोशीले उल्लेखित वाचा सञ्चालकले पूरा नगरेको आरोप लगाएका थिए । १८ लाखको लगानीमा सचिनलाई पाँच वर्षपछि एक किलोग्राम सुन दिने बताइएको थियो । सचिन जोशीको दाबीअनुसार उनले पटक पटक सुन लिन पहल गरे । तर उनलाई सुन प्रदान गरिएन । अर्कोतर्फ कम्पनीले सचिनलाई समयमा सुन नलिएको भन्दै दैनिक पाँच हजार रुपैयाँ भण्डारण शुल्कको नाममा काटिरहेको थियो ।

यस विषयमा खार पुलिस स्टेसनका वरिष्ठ प्रहरी निरीक्षक गजानन काब्दुल्लेले राज कुन्द्राको विरुद्ध कुनै एफआईआर दर्ता नभएको बताएका थिए । सचिनले उजुरीमात्रै दर्ता गरेकोमा यस विषयमा अनुसन्धान गरिएको थियो । तर राजविरुद्ध कुनै प्रमाण फेला परेन । त्यसैले उनलाई क्लीन चिट दिइयो । यस अवस्थामा शिल्पा शेट्टीले भने कम्पनीले एक किलोग्राम सुन अदालतको नियन्त्रणमा राखिएको बताएकी थिइन् ।

बेचेको कारको ठक्कर
यस वर्षको फेब्रुअरीमा बेंगलुरुमा ठक्कर दिएर भागेको (हिट र रन) भन्दै केस दर्ता भयो । धेरै गाडीहरूलाई एक अडी कारले ठक्कर दियो । यस घटनामा कसैको पनि मृत्यु भएन, तर चालक भने घाइते भए । त्यस्तै धेरै सवारीहरू क्षतिग्रस्त भए । जब पुलिसले आरटीओको साथमा मिलेर अनुसन्धान सुरु गर्‍यो, तब यो कार राज कुन्द्राको नाममा रहेको थाहा भयो ।

राजले आफ्नो बचावटमा यो कार दुई महिनाअघि नै बेचिसकेको बताएका थिए । तर उनका कागजातहरू ट्रान्सफर गरिएका थिएनन् । पछि दुर्घटना हुँदा कार डिलर मोहम्मद शादाबले चलाएको प्रहरीले पुष्टि गर्‍यो ।

अहिले आएर उनीविरुद्ध अश्लील चलचित्र खिचेको र एपमार्फत सार्वजनिक गरेको मुद्दा चलिरहेको छ । गत फेब्रुअरीमा दर्ता भएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा कुन्द्राको नाम बाहिर आएको हो । यो खबर सार्वजनिक भएसँगै कुन्द्राको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *