विद्युत आपूर्तिमा ट्रिपिङ समस्या समाधान गर्न माग गर्दै विराटनगरका व्यापारीको दौडधुप

विराटनगर । विद्युतको समस्या झेल्दै आएका विराटनगरका उद्योगी व्यवसायीले समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नयाँ नियुक्त भएर आएकी मन्त्री पम्फा भुषाललाई भेट्दै विराटनगरका व्यापारीले तत्काल बिद्युत समस्या समाधानमा ध्यान दिन आग्रह गरेका हुन् ।

मोरङ व्यापार संघको अगुवाईमा भएको भेटमा व्यापारीले मोरङ सुनसरी औद्योगिक करिडोर बिद्युत समस्यालाई समाधान गर्न आग्रह गरे । कटहरी गाउँपालिका र मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरुले विद्यूत आपूर्तिमा भोगिरहेका समस्याहरुको बारेमा मन्त्रीसहित सचिवको ध्यानाकर्षण गराईएको मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले बताए ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रहरुमा ३३ केभिएलाईन जडान रहेतापनि हाल विद्युत आपूर्तिमा ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्यूत आपूर्ति भएको कारण उद्योगहरु संचालन गर्न कठिनाई भएको बारेमा ध्यानाकर्षण गराईएको मुण्दडाले बताए । अनियमित बिद्युत कटौतीका कारण अधिकांश उद्योगहरुले उत्पादन कटौति गर्न बाध्य भएकोले नियमित विद्युतको व्यवस्था मिलाउन आग्रह गरिएको व्यवसायीको भनाई छ ।

‘वर्षायाममा मर्मत सम्हारका कार्यहरुसमेत सुस्त हुँदाको अवस्थामा उद्योग व्यवसाय जर्जर हुँदै गएको र ती समस्याहरुका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौँको निर्यात प्रभावित भएको बारेमा ध्यानाकर्षण गराईएको छ, मुण्दडाले भने, ‘राजस्वसमेत गुमिरहेको अवस्थामा विद्यमान समस्याहरुको शिघ्र निराकरणका लागि ठोस कदमचाल्नु पर्नेमा जोड दिईएको छ ।’

व्यवसायीले विद्युत महशुल र डिमाण्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण उद्योगहरुको लागतखर्च बढेको र त्यसको भार उपभोक्तालाई समेत परिरहेको बताएका ध्यानाकर्षण गराएका थिए । औद्योगिक उत्पादनको लागत खर्च न्यूनीकरण र गुणस्तरीय विद्यूत आपूर्तिको व्यवस्थापनकालागि अनुरोध गरिएको संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले बताए । संघको टोलीमा उद्योगीहरु महेश जाजू, पवनकुमार सारडा, नविन रिजालसहित प्रकाश मुण्दडाको सहभागीता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *